नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाउन आशिका तामाङको आग्रह
काठमाडौँः प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) की सांसद आशिका तामाङले नेपाल–भारत सीमा सुरक्षालाई कडा बनाउन आवश्यक परे पर्खाल वा काँडेतार लगाउन सरकारलाई आग्रह गरेकी छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय सार्वभौमिकताको आधार नै आफ्नो भूभाग र सीमाको सुरक्षा भएको उल्लेख गर्दै राज्यले आफ्नो भूमिको रक्षा गर्न नसकेमा देशको सार्वभौमिकतामाथि प्रश्न उठ्ने बताइन्।
उनले आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल निर्माण वा काँडेतार लगाउन सकिने विकल्प अपनाउनुपर्ने धारणा राखिन्।
सांसद तामाङले लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता संवेदनशील क्षेत्र नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग जोडिएको विषय भएको भन्दै यसमा गम्भीर कूटनीतिक पहल आवश्यक रहेको बताइन्।
त्यस्तै उनले सुस्ता क्षेत्रको दीर्घकालीन सीमा विवाद र हाल त्यहाँ भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गतिविधि तथा स्थानीयलाई धम्की दिइएको भन्ने समाचारप्रति सरकारको ध्यानाकर्षण गराउँदै वास्तविकता सार्वजनिक गर्न माग गरिन्।
सीमा क्षेत्रमा देखिएका यस्ता समस्याहरू केवल केही क्षेत्रमा मात्र सीमित नभई अन्य स्थानमा समेत देखिएको भन्दै उनले सरकारले तत्काल अध्ययन, छानबिन र प्रभावकारी कूटनीतिक कदम चाल्नुपर्ने आवश्यकता औँल्याइन्।