सुदूर नेपाललाई विश्वसँग जोड्दै

लाम्पाटामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको अस्थायी सुरक्षा बेस स्थापना

तस्विरः अनिल शाही
तस्विरः अनिल शाही
२०८३ असार १, १२:३३ नारायण अवस्थी

बाजुरा: बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ लाम्पाटामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा बेस स्थापना गरिएको छ। सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै लाम्पाटामा अस्थायी सशस्त्र प्रहरी सुरक्षा बेस र नेपाल प्रहरी चौकी सञ्चालनमा ल्याइएको हो।

सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २१ जना सशस्त्र प्रहरी बल नेपाल का सुरक्षाकर्मी र प्रहरी सहायक निरीक्षक (असई) मिठ्ठु बहादुर बोहराको नेतृत्वमा ७ जना नेपाल प्रहरीको टोली लाम्पाटामा खटाइएको छ। उक्त टोली रहने गरी अस्थायी चौकी स्थापना गरिएको सुरक्षा निकायले जनाएको छ।

जेठ ३ गते र ५ गते हुम्लाबाट आएका व्यक्तिहरूले लाम्पाटाका स्थानीयमाथि कुटपिट गरेका थिए। उनीहरूले लाम्पाटा-रानीसैन क्षेत्र हुम्लामा पर्ने भन्दै सुदूरपश्चिम प्रदेश सरकारले उक्त क्षेत्रमा प्रहरी चौकी राख्न नपाउने भन्दै विरोधमा उत्रिएका हुन्।

हुम्लीको कुटपिटपछि उत्पन्न असहज परिस्थितिका कारण विस्थापित भएका लाम्पाटाका स्थानीय बासिन्दा सुरक्षाकर्मीको उपस्थिति पछि पुनः गाउँ फर्किने भएका छन्। हाल गाउँको अवस्था क्रमशः सामान्य बन्दै गएकाले लाम्पाटाभन्दा तल करिब चार/पाँच घण्टाको पैदल दुरीमा रहेको गुम्बामा आश्रय लिइरहेका स्थानीय लाम्पाटा फर्किने तयारीमा रहेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए।

'सुरक्षा बेस स्थापना भएसँगै स्थानीय नागरिकले सुरक्षाको अनुभूति गरेका छन्। अहिले गुम्बामा आश्रय लिएर बसिरहेका लाम्पाटाका स्थानीय घर फर्किने भएका छन्,'अध्यक्ष मल्लले बताए।

लाम्पाटामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पुगेपछि हु्म्लीहरू त्यो क्षेत्रमा आउन छोडेको बताइएको छ। गाउँमा शान्ति, अमन–चयन कायम राख्न र कुनै पनि आपतकालीन अवस्थालाई तत्काल नियन्त्रणमा लिन सरकारले त्यो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

हिमाली तथा दुर्गम क्षेत्र भएकाले लाम्पाटामा स्थायी सुरक्षा संरचना नहुँदा यसअघि समस्या हुने गरेको थियो। अस्थायी रूपमा भए पनि सुरक्षाबेस र चौकी स्थापना भएपछि स्थानीय प्रशासन र नागरिकबीच समन्वय थप मजबुत हुने अपेक्षा गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस