सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुप्रीको संसार देख्ने सपना पूरा हुन सक्छ !

२०७६ भदौ १७, ०२:५६ जनक विष्ट

दिन मलाई  वर्षदिन जति सम्झी रुना रुना,
आमाले मारिनन् किन मलाई हुँदा हुँदा।
आमा छन्ति खाउला लाउला भ्याका दुमै दिन
आमाले मारिदिनु पर्ने दुधलाई हुन किन ?

‘भ्वाइस आफ नेपाल’ को स्टेजमा गुन्जिएको भाका अछामको तारेखा गाउँकी झुप्री भण्डारीको हो। जीवनको दुःख समेटेर तयार पारिएको यो भाका झुप्रीले आफ्नै कर्णप्रिय स्वरमा गत भदौँ ७ गते रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ब्लाइन्ड अडिसनमा गाएकी थिईन्।

उक्त अडिसनमा झुप्री आँफैले लेखेको यो गीत गाउँदा धेरैका आँखा रसाए, भ्वाईसका कोचहरुले पनि आँसु रोक्न सकेनन्। चारै जना कोचलाई उनले प्रभावित गर्न सफल भईन्। उनको आवाजले प्रभावित भएका चारै जना कोचको कुर्ची घुमेसंगै झुप्री भ्वाइसको आगामी यात्राका लागि प्रतिस्पर्धी पनि बनेकी छिन्।

अछामको वनपाखा र कहिलेकाँही एफएम रेडियोमा गुञ्जी रहने गीतलाई ‘दि भ्वाइस अफ नेपाल’ को स्टेज सम्म पु¥याउन झुप्रीका सहयोगी बनेका थिए गजलकार कमल संघर्ष (कमलप्रशाद भण्डारी)। 

के गरेर खाउँला संसार देख्ने आँखा छैन्, 
पराई शहर छ, यताउता काँही देख्दैन्,
मलाई रहरै छ, संसार देखी हिड्न डुल्न

जन्मजात नै दृष्टिवीहिन झुप्रीलाई संसार देख्ने सपना छ। उनलाई पनि समान्य मानिस झै हिडन्, डुल्न र खुल्ला संसारमा रमाउने चाहाना छ। तर कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मिएकै कारण पनि होला झुप्रीलाई अहिले सम्म दृष्टि सम्भव छ की छैन् भनेर उपचार सम्म नगराएको। उनीसँगै काठमाडौँमा रहेका कमल संघर्ष जन्मजात नै दृष्टि गुमाएकी झुप्रीको उपचार गर्न परिवारले कतै धाउन नसकेको बताउँछन्।

तर झुप्रीमा भने संसार देख्ने ठुलो सपना छ। उनी चाहान्छीन्, ‘मैले संसार देखेर समान्य मानिस झै हिड्न, डुल्न सके समाजले मलाई हेला गर्दैन्थ्यो।’ म पनि समान्य जीवन यापन गर्न सक्थे होला। कमल संघर्ष भन्छन्, ‘कसलाई पो हुदैँन् होला संसार देख्ने चाहाना।’

दृष्टिविहिन भएकै कारण समाजमा आफू अपहेलित हुनुपरेको पीडा काठमाडौँ गएर सुनाउन थालेकी छन् उनी। झुप्रीले समाजले आफूलाई हेला गर्ने भएकै कारण गाउँ फर्किन मन नभएको प्रतिक्रिया समेत दिन थालेकी छिन्। झुप्रीको बद्लिएको मन बोल्छ, ‘मलाइ घर फर्कनै मन छैन, त्यस्ता गाउँलेको नजिक जानुभन्दा यतै केही काम गरेर बस्न पाए हुन्थ्यो। उनीहरुसँग हात थापेर खान नपरोस् भन्छु। तर देखेको पाइँदैन, लेखेको हुनुपर्छ।’

झुप्रीले गाउँ फर्किने इच्छा नभएको प्रतिक्रिया दिँदा यतिबेला कतिपयको मनमा लाग्न थालेको छ, के उनले चाहेझै साच्चै अब संसार देख्न सक्छिन् त ? कतिपयले त धेरै जन्मजात दृष्टिवीहिन भएका व्यक्तिलाई दृष्टि दिन ठुलो रकम आवश्यक पर्ने अड्कल लगाएका छन् भने कसैले नेपालमा त्यो सम्भव नभएको आकलन गरिरहेका छन्।

चिकित्सक पन्त भन्छन् – धनगढीमै उपचार सम्भव छ तर अवस्था हेर्नुपर्छ  

गेटा आँखा अस्पताल कैलालीका प्रमुख डाक्टर सुरेशराज पन्त, जन्मजात दृष्टिवीहिन भएकाहरुलाई दृष्टि दिन सम्भव भएको प्रतिक्रिया दिन्छन्। ‘गेटा आँखा अस्पातलबाटै जन्मजात दृष्टिवीहिनको उपचार गरी आँखा देख्न सक्ने भएको प्रशस्त उदाहरण छन्,’ डाक्टर पन्तले भने, ‘तर दृष्टि प्रदान गर्न नसकिने स्थिती पनि हुने भएकाले उपचार गराएर कारण पत्ता लगाउन आवश्यक हुन्छ।’

जन्मजात नै आँखा नबनेको वा आँखामा क्यान्सर भए शल्यक्रिया मार्फत दृष्टि प्रदान गर्न सम्भव नभएको डाक्टर पन्तले उल्लेख गरे। तर मोतिविन्दु, जलविन्दु तथा आँखामा फुलो परेको भए उपचार गर्न सकिने उनले जनाए। तर सुरुमा कारण पत्ता लगाउन आवश्यक रहेको चिकित्सकको भनाई छ।
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस