अधिक ज्येष्ठ कृष्ण आमावास्या: नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
काठमाडौँ: सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरेर मनाइएको छ।
सोमबार औँसी परेका दिन बिहान नबोलीकन स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ। यसपटक अधिक ज्येष्ठ कृष्ण औँसी आज सोमबार परेको हो। सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरेमा आफ्नो मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व सदस्य प्रा डा देवमणि भट्टराईका अनुसार सामान्यतया वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँसी पर्ने गर्छ। सोमबारे औँसी परेका दिन बिहान यसरी नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने र अक्षय फल प्राप्त हुने विषय विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको उनले बताए।
औँसी तिथि श्राद्ध तथा तर्पणका लागि पनि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। सोमबार औँसी परेका दिन माता, पिता हुने र नहुने दुवै थरीका मानिसले बिहानै स्नान गर्नु शास्त्रीय रूपमा उचित रहेको जनाइएको छ। प्रत्येक महिनामा आउने औँसीलाई पनि विशेष पर्वका रूपमा मनाउने वैदिक सनातनी परम्परा रही आएको छ।
माता, पिता नहुनेहरूले भने औँसी पर्वका दिन श्राद्ध, तर्पण र सिदा दानलगायतका कार्य गरेर मनाउँछन्। यसका लागि पनि सोमबार परेको औँसीलाई विशेष रूपमा मानिने गरेको धर्मशास्त्रविद् भट्टराईले जानकारी दिए। यस विशेष अवसरमा आज देशका विभिन्न धार्मिक तीर्थस्थलहरूमा स्नान गर्ने श्रद्धालुहरूको ठ’लो भीड लागिरहेको छ।
यसैगरी, गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास अर्थात् मलमास पनि आजैदेखि सकिने समितिले स्वीकृति दिएका पात्रोहरूमा उल्लेख गरिएको छ। अधिकमासलाई धार्मिक रूपमा पुरुषोत्तममास पनि भनिन्छ। यस अवसरमा काठमाडौँको दक्षिण पश्चिममा अवस्थित मत्स्यनारायण मन्दिरमा एक महिनादेखि लागिरहेको मेलाको आज अन्तिम दिन हो।