आँखा अस्पताल व्यवस्थापन समिति र कर्मचारीबीच सहमतिपछि पनि आन्दोलन जारी
धनगढी: गेटा आँखा अस्पताल व्यवस्थापन समितिले कर्मचारीका मागबारे सहमति भइसकेपछि पनि स्थानीय बासिन्दाले आन्दोलन जारी राखेको भन्दै अस्पतालको साख जोगाउन आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।
व्यवस्थापन समिति अध्यक्ष लोकराज जोशीद्वारा जारी विज्ञप्तिमा नेपाल नेत्रज्योति संघका केन्द्रीय कार्यवाहक अध्यक्ष श्यामकुमार पोखरेलसहितको टोलीको उपस्थितिमा आन्दोलनरत कर्मचारी, नेपाल नेत्रज्योति संघ सुदूरपश्चिम प्रदेश समिति, जिल्ला समिति तथा अस्पताल व्यवस्थापन समितिबीच छलफल भई १३ बुँदे सहमति भएको उल्लेख गरिएको छ।
सहमतिअनुसार व्यवस्थापन समितिले आफ्नो अधिकारभित्र पर्ने काम तत्काल गर्ने तथा अधिकार क्षेत्रभन्दा बाहिरका विषय केन्द्रमा सिफारिस गर्ने सहमति भएको थियो। सोही आधारमा आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति समेत भएको विज्ञप्तिमा जनाइएको छ।
तर त्यसपछि पनि नेत्रज्योति संघको विधान तथा नियमावली विपरीतका माग राख्दै अस्पतालको मूल गेटमा कालो ब्यानर राख्ने, सेवाग्राहीलाई असर पुग्ने तथा अस्पतालको छवि धुमिल बनाउने गतिविधि भइरहेको व्यवस्थापन समितिको आरोप छ।
विज्ञप्तिमा अस्पतालको बदनाम हुने खालका गतिविधि तत्काल बन्द गरी सेवा प्रवाहलाई नियमित बनाउन तथा संस्थाको साख जोगाउन सरोकारवाला सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरिएको छ।
व्यवस्थापन समितिका अनुसार जेठ २२ गते कर्मचारी पक्षसँग सहमति भएपछि जेठ २४ गतेदेखि स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका हुन्। आन्दोलनरत पक्षले अस्पताल व्यवस्थापन समिति विघटन गर्नुपर्ने, अस्पतालमा कार्यरत चार जना प्रशासनिक तथा प्राविधिक कर्मचारीलाई अवकाश दिनुपर्ने लगायतका माग अघि सारेका छन्।
विज्ञप्तिमा जेठ १९ गते कञ्चनपुरका प्रतिनिधिसभा सदस्यको पहलमा कर्मचारी र अस्पताल प्रशासनबीच सहमति भएको उल्लेख गर्दै त्यसपछि स्थानीयको ठूलो समूह बैठकस्थलमा प्रवेश गरी सांसद र चिफ मेडिकल डाइरेक्टरलाई बाहिर निकाल्ने तथा कर्मचारीलाई भित्र थुनेर तालाबन्दी गरेको दाबी गरिएको छ।
कर्मचारीको मागअनुसार महँगी भत्ता २०८२ साउनदेखि लागू हुने गरी उपलब्ध गराउने निर्णय भइसकेको र त्यससम्बन्धी सूचना सार्वजनिक सूचना पाटीमा टाँस गरिएको पनि व्यवस्थापन समितिले जनाएको छ।
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित गेटा आँखा अस्पताल सुदूरपश्चिममा अन्धोपन न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको प्रमुख स्वास्थ्य संस्था हो।
उल्लेखनीय रूपमा, कर्मचारीहरूले महँगी भत्तालगायतका माग राख्दै जेठ ४ गतेदेखि आन्दोलन सुरु गरेका थिए भने हाल जेठ २४ गतेदेखि स्थानीय बासिन्दाले आन्दोलन जारी राखेका छन्।