सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुप सरकारमा ४० महिनामा बने तीन मुख्यमन्त्री र ३३ जना मन्त्री

२०८३ जेठ २६, ०२:०५ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारमा ४० महिनामा चार पटक सरकार गठन हुँदा तीन जना मुख्यमन्त्री र ३३ जना प्रदेश सभा सदस्यले मन्त्री हुने अवसर पाएका छन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा चार पटक सरकार गठन  हुँदा तीन जना मुख्यमन्त्रीसहित ३६ जनाले गाडीमा राष्ट्रिय झन्डाले फहराउँदै हिड्ने अवसर पाएका हुन्।

२०७९ को मंसिरमा भएको निर्वाचनबाट पुस २७ गते एमालेका राजेन्द्रसिंह रावल दोस्रो कार्यकालको पहिलो तथा सुदूरपश्चिमको दोस्रो मुख्यमन्त्री नियुक्त भएका थिए। यसअघि २०७४ मा भएको निर्वाचनबाट नेपाली कम्युनिस्ट पार्टीका त्रिलोचन भट्ट पूरै कार्यकाल अर्थात् पाँच वर्ष नै मुख्यमन्त्री भएका हुन्।

सुदूरपश्चिमको दोस्रो मुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिंह रावल एक महिने मुख्यमन्त्री हुन्। संसदमा बहुमत पुगाउन नसक्दा उनले २०७९ माघ २६ मा राजीनामा दिनुपरेको थियो।

रावलको राजीनामापछि तेस्रो मुख्यमन्त्रीमा सत्तारोहण गरेका काँग्रेसका कमलबहादुर शाह पहिलोपटक २०७९ माघ २६ गते मुख्यमन्त्री भएका हुन्। उनको नेतृत्वमा सरकार २०८० चैत २२ गतेसम्म रह्यो। त्यसपछि एमाले, माओवादी र समाजवादीको गठबन्धन निर्माण हुँदा चौथो मुख्यमन्त्रीको रुपमा तत्कालीन  समाजवादीका दीर्घबहादुर सोडारी २०८२ बैशाख ६ गते मुख्यमन्त्री बनेका थिए।

उनले एक सय दिनमै साउन १८ गते राजीनामा दिनु परेको थियो। त्यसपछि पाँचौं मुख्यमन्त्रीका रुपमा मुख्यमन्त्री कमलबहादुर शाहले २०८१ साउन २० गते नियुक्ति बुझेका हुन्। शाहले सोमवार अर्थात् जेठ २५ गते गरेको मन्त्रिपरिषद् पुनर्गठनसँगै राज्यमन्त्रीसहित मन्त्री हुनेहरूको संख्या ३२ पुगेको हो। एमालेबाट थप चार जना मन्त्री थपिएको भए मन्त्री हुनेहरूको संख्या ३६ पुग्थ्यो।

नेकपाका १७ जना मन्त्री 
सुदूरपश्चिम प्रदेश सभाका ५३ जना सांसदमध्ये हाल ५२ जना मात्रै छन्। स्वतन्त्र सांसद ताराप्रसाद जोशी अहिले डडेल्धुराबाट सङ्गीय सांसद छन्।

हाल कायम रहेका ५२ जना प्रदेश सभा सदस्यमध्ये सबभन्दा ठूलो नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को २२ जना सांसद छन्। जसमा एक जना मुख्यमन्त्रीसहित १७ जना मन्त्री भएका छन्।
नेकपाबाट तीन महिने मुख्यमन्त्री सोडारी भएका बेला सबैभन्दा धेरैले मन्त्री हुने अवसर पाएका थिए।

नेकपाबाट मन्त्री हुनेमा एक महिनाका लागि पहिलोपटक कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुँदा संसदीय दलका नेता खगराज भट्ट बिनाविभागीय मन्त्री बनेका थिए।

यस्तै, उपनेता अक्कलबहादुर रावल, ओमविक्रम भाट, कैलाश चौधरी, खुशीराम डगौरा, घनश्याम चौधरी, रमेशसिंह धामी, रामेश्वर चौधरी, लक्ष्मणकिशोर चौधरी, लक्ष्मी विक, माया पन्त, नरेशकुमार शाही, झपटबहादुर साउँद, टीका थापा मन्त्री बनेका थिए भने इन्दिरा गिरी र गीतादेवी माल राज्यमन्त्री बनेका हुन्।

नेकपाबाट  निर्वाचित भएका भीमबहादुर भण्डारी सभामुख छन् भने प्रकाश रावल, शिवसिंह ओली, जानकीदेवी कुँवर र मानबहादुर धामीले मन्त्री हुने अवसर पाएनन्। यद्यपि प्रकाश रावल र मानबहादुर धामी प्रदेश सभाको अघिल्लो कार्यकालमा मन्त्री बनेका थिए।

काँग्रेसले १३ जनालाई बनायो मन्त्री
नेकपापछि नेपाली काँग्रेसबाट अहिलेसम्म एक जना मुख्यमन्त्रीसहित १३ जनाले मन्त्री हुने अवसर पाएका छन्। काँग्रेसबाट कमलबहादुर शाह दुई पटक मुख्यमन्त्री हुँदा उनका सहकर्मी ६ जना मात्रै मन्त्री हुने अवसरबाट बञ्चित भएका छन्।

काँग्रेसका १८ जना प्रदेश सभा सदस्यमध्ये हालसम्म मन्त्री हुने अवसर नपाउने ६ जनामा  दिवानसिंह विष्ट, पदमबहादुर शाही, गीता चौधरी, ललिता सुनार, तुलसी देवकोटा र डम्मरी महरा परेका छन्।

काँग्रेसबाट मन्त्री हुनेमा बहादुरसिंह थापा, प्रकाशबहादुर देउवा, मेघराज खड्का, शिवराज भट्ट, विक्रमसिंह धामी मानबहादुर रावल र बेलबहादुर राना मगर छन् भने राज्यमन्त्री हुनेमा प्रकाशबहादुर बम, सरस्वती खड्का, मधुदेवी भारती र जुनाकुमारी दानी छन्। यस्तै, सडक दुर्घटनामा परेर ज्यान गुमाएका बझाङका पृथ्वीबहादुर सिंह पनि मन्त्री बनेका थिए।

एमालेका ६ जना बने मन्त्री 
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट राजेन्द्रसिंह रावल एक महिने मुख्यमन्त्री बन्दा ११ सांसदमध्ये पाँच जनाले मन्त्री हुने अवसर पाएका छैनन्। एमालेबाट सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार मन्त्री छन् भने आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिरासिंह सार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा बिरबहादुर थापा तथा राज्यमन्त्रीमा निर्मलादेवी साउँद छिन्। यस्तै, सन्तोषकुमारी शर्मा थापा एक महिनाका लागि बिनाविभागीय मन्त्री भएकी थिइन्।

एमालेबाट निर्वाचित कोइलीदेवी चौधरी उपसभामुख छिन् भने मन्त्री हुने अवसर नपाउनेमा धर्मराज पाठक, चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी र जानकी ऐर बम हुन्।

यस्तै, राप्रपाकी खेमादेवी विष्ट पनि मन्त्री भएकी छैनन्।

समाचारमा मन्त्रीको संख्या सच्याइएको छः सम्पादक

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस