सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदीय समितिको निर्देशनपछि बाह्रवनको ५ महिनादेखि खाता रोक्का, छानविन सुरु भएन

२०७६ भदौ १६, ०६:५५ कमल सावद

कैलालीको बाह्रवन साझेदारी वनको ५ महिनादेखि खाता रोक्का भएपछि वन व्यवस्थापनको काम प्रभावित  भएको छ। सुदूरपश्चिममै पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको बाह्रवनमा ५ महिनादेखि खाता रोक्का भएपछि वन व्यवस्थापनमा समस्या भएको हो। 

‘चैतमा सुदूरपश्चिम प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत उपसमितिले बाह्रवन साझेदारी वनमा आर्थिक अनियमितता भएको ठहर गरेपछि खाता रोक्का भएको थियो,’ बाह्रवन साझेदारी वनका अध्यक्ष ठक्कर शाहीले भने, ‘त्यसयता कुनै पनि काम हुन सकेका छैनन्, न छानविनको प्रक्रिया नै अगाडी बढाईएको छ।’

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक वैज्ञानिक वनको सुरुवात गरेको बाह्रवनलाई आर्थिक अनियमितता भएको भन्दै ५ महिना देखि प्रदेश सरकारले काम बिहिन बनाएको उनले आरोप लगाए। वैज्ञानीक वनको बाँकी प्रक्रिया काठ कटानी तथा ढुवानी, उपभोक्तालाई वितरण, काठ ठेकदारलाई दिनुपर्ने भुक्तानीमा रोक लगाइएको उनले बताए।

पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीको सभापतित्वमा रहेको उपसमितिले साझेदारी वनमा आर्थिक अनियमितता भएको भन्दै बैँक खाता तथा सम्पूर्ण काम रोक्दै छानविन गर्न प्रदेशको वन मन्त्रालयलाई निर्देशन दिएको थियो। निर्देशनपछि प्रदेशको वन मन्त्रालयले छानविन समिति गठन पनि गरेको थियो।

तर उक्त समितिले अझै छानविन समेत सुरु गरेको छैन्। समितिले छानविनको काम सुरु गर्न नसक्दा आरोप पुष्टि भएको छैन् भने, बाह्रवनको सम्पुर्ण काम प्रभावित भएको छ। बाह्रवनमा भएको आर्थिक अनियमितता छानविनका लागि गठित समितिले काम सुरु समेत नगरेपछि ८० वर्षको समय अवधि रहेको वैज्ञानीक वन व्यवस्थापनको कार्यक्रमलाई पनि असर परेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले बताए। 

बाह्रवनमा २०६८ साल चैत ४ गते पहिलो पटक व्यवस्थापन समिति गठन भएको थियो। २०७२ साल असोज ७ गते समूहको भेला मार्फत फेरी समिति गठन गरिएको थियो। व्यवस्थापन समितिका अनुसार अहिले खातामा नौ करोड भन्दा बढि रकम छ। तर कार्यक्रमहरु सञ्चालन गर्न पाईएको छैन्। सम्पुर्ण काममा प्रतिवन्द लगाएर छानविन थालेको समितिका संयोजक हेमराज विष्टले भने छानविनको प्रक्रिया अगाडी बढाईएको दावी गरे। 

बाह्रवन साझेदारी वनले प्रत्येक वर्ष वन पैदावरबाट ४ देखि ६ करोड आम्दानी गर्दै आएको छ। कैलालीको धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाका ८÷८ वडा, गौरीगंगा नगरपालिकाका ५ र चुरे गाँउपालिकाको एक वडाका ५० हजार उपभोक्ता बाह्रवन साझेदारी वनका छन्। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस