सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा संघीय सासंद मार्फत कार्यान्वयन भएका योजनामा बदमासी

२०७६ भदौ १५, ०१:५१ कमल सावद

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा संघीय सासंदको स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटमाथि मनोमानी भएको आरोप लागेको छ। गत आर्थिक बर्षमा सासंदको तजविजमा प्रति सासंद चार करोडका दरले बजेट पठाईएपनि मनोमानी रुपमा खर्च भएको आरोप लागेको हो।

निर्वाचन क्षेत्र नम्बर ३ का तीन वटा स्थानीय तह घोडाघोडी र भजनी नगरपालिका तथा कैलारी गाँउपालिकामा सञ्चालन भएको कार्यक्रहरुमा रकम दुरुपयोग भएको आरोप लागेको हो। उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका कार्यक्रमहरुमा कार्यकर्तालाई अध्यक्ष र निकटका व्याक्तीलाई निर्माणको ठेक्का दिएर बजेट दुरुपयोग भएको नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्यका प्रत्यासी लक्ष्मण शाहले आरोप लगाए। ‘उपभोक्ता समितिका बारेमा वडा कार्यालयलाई पनि जानकारी छैन्,’ उनले भने, ‘रकम दामासायिका रुपमा वितरण गरेर, कार्यक्रमहरु कार्यान्वयन भएको छ। धेरै कार्यक्रमहरुका आर्थिक हिनामिना भएको पाइएको छ। खर्च बढि र भौतिक प्रगति न्युन रहेको पाइएको छ।’

पूर्व कृषि मन्त्री तथा प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले सडक ग्रावेल, सडक स्तरोन्नती, सभा हल निर्माण, पाइपलाईन बिस्तार, अधुरो पुल निर्माण तथा कल्भर्ट निर्माणका लागि गत आर्थिक वर्षमा चार करोड खर्च गरेका छन्। १५ वटा शिर्षकमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको वजेट विभाजन गर्दै कार्यान्वयन गरिएको थियो। कार्यक्रमहरु पूर्ण कार्यान्वयन भएको दावी गरिएका बेला न्युन काम गर्दै आर्थिक हिनामिना भएको आरोप लागेको छ। घोडाघोडी नगरपालिकामा मात्र ८ वटा कार्यक्रमहरु स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा समावेस भएका थिए। ती कार्यक्रम मध्ये नगरपालिकाको वडा नम्बर ५ डोकेबजार–ट्याङ्ना नदी सम्मको सडक ग्रावेलमा ठुलो रकम हिनामिना भएको नेपाली काँग्रेसकी नेतृ रिता चौधरीको आरोप छ।

उपभोक्ता समितिबाट कार्यान्वयन भएको उक्त सडक ग्रावेलको योजनामा ३८ लाख ६० हजार विनियोजन गरिएको थियो। पूर्ण काम भएको भन्दै भुक्तानी गएपनि काम भने न्युन र कम गुणस्तरको भएकोे चौधरीले बताइन्। उनले भनिन, ‘पूर्व कृषि मन्त्री चौधरीको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट सडक ग्रावेल भएको छ, उपभोक्ता समितिसंग सम्झौत भएपनि समितिले निर्माण कम्पनीलाई ठेक्का दिएर कार्यान्वयन भएको सडक ग्रावेलको योजनाको भौतिक प्रगति न्युन छ। तर पूर्ण भुक्तानी दिइएको छ। सडक ग्रावेलका योजनामा आर्थिक हिनामिना भएको छ।’
घोडाघोडी नगरपालिका वडा नम्बर ६ मा पर्ने राजीकुनाको शिविर देखि पानी ट्याँकी सम्मको सडक ग्रावेलका लागि २० लाख उक्त कार्यक्रमबाट विनियोजन भएको थियो। तर उक्त रकमले केही क्षेत्रमा मात्र ग्रावेले गरिएको र बाँकी रकम हिनामिना भएको आरोप पनि लागेको छ। स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम स्थानीय तहले कार्यान्वयन गरेको भएपनि वडा कार्यालयलाई जानकारी नै छैन्। वडा अध्यक्षहरुलाई कार्यक्रमका बारेमा जानकारी नभएका बताइएका बेला प्रतिनिधि सभा सदस्यहरुको निर्देशनमा कार्यक्रम कार्यान्वयन भएको बुझिएको छ। उपभोक्ता समिति, स्थानीय तहको सिफारीस तथा काम गर्ने निर्माण व्यवसायी पनि प्रतिनिधि सभाका सदस्यको निर्देशनमा  छनौट भएका पाइएको छ। 
घोडाघोडी नगरपालिका वडा नम्बर १ बेलार गाँउ बिच टोल पिपल चौतारा देखि पश्चिम डोडा नदी तट्बधन तथा नियन्त्रणको रकममा पनि हिनामिना भएको आरोप लागेको छ। नदी नियन्त्रणका लागि २० लाख विनियोजन भएपनि पूर्ण रकमको सदुपयोग नभएको दावी गरिएको छ। वडा अध्यक्ष तथा उपभोक्ता समितिलाई पनि जानकारी नदिएर ज्याबिन तार आएको थियो।

अधिकांस कार्यक्रमहरुमा काम पूण नहुदै भुक्तानी भएको, काम गुणस्तरीय नभएको र कार्यकर्तालाई मात्र उपभोक्ता समितिमा राखिएको आरोप लागेका बेला पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले स्थानीय तहको मुल्याँकनका आधारमा रकम भुक्तानी भएको बताए। ‘स्थानीय तहलाई पूर्ण अधिकार दिएका थियौ,’ उनले भने, ‘रकम मात्र हामीले पठाएका हौ, सबै कार्यान्वयनको काम स्थानीय तहहरुले गरेका हुन्। उनीहरुको सिफारीसको आधारमा रकम भुक्तानी भएको हो।’
स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको चार करोडमा प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले एक करोड ४५ लाख कैलारी गाँउपालिका, एक करोड भजनी नगरपालिका र बाँकी घोडाघोडी नगरपालिकामा रकम विनियोजन गरेका थिए। एक लाख ४० हजार जिल्ला समन्वय समितिको प्रसाशनिक खर्च राखिएको थियो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस