आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा
धनगढीः आज (बिहीबार)देखि देशभर लगातार ४ दिन सार्वजनिक बिदा सुरु भएको छ।
गृह मन्त्रालयको निर्णय र पूर्व निर्धारित सार्वजनिक बिदाको सूचीअनुसार आज बिहीबारदेखि आगामी आइतबारसम्म देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहने भएका हुन्। आज जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद–उल–अज्हा) परेकोले सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
त्यस्तै, भोलि जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै छ। गणतन्त्र दिवसका लागि पनि सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। त्यसैगरी, जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित सार्वजनिक बिदा परेको छ। यसरी आज बिहीबारदेखि आइतबारसम्म लगातार चार दिन सार्वजनिक बिदा परेकाले अब सोमबार मात्र सरकारी कार्यालयहरू खुल्नेछन्।