सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशको राजधानीकै वासिन्दा विद्युतको पहुँच बाहिर

२०७६ भदौ १४, १२:०२ कमल सावद

सुदूरपश्चिम प्रदेशको राजधानी र प्रदेशमा सबैभन्दा बढि सुगम मानिएको कैलालीमा नगरपालिकाकै बासिन्दा समेत अध्यारोमा बस्न बाध्य छन्। विभिन्न नगरपालिकाका वासिन्दाहरु अहिले पनि विद्युतको पहुँच भन्दा बाहिर रहेका हुन्। गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका तथा कैलारी गाँउपालिकाका केही वडाहरुमा विद्युत लाइन अझै विस्तार भएको छैन्। बर्षाै पुरानो विद्युतीकरणका योजना पनि अलपत्र परेको छ।

प्रदेशको राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकाका सवै वडामा विद्युतको पहुँच पुगेको छैन्। विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका अनुसार नगरपालिकाको वडा नम्बर ४ र १२ तथा केही अन्य वडाका बस्तीहरुमा विद्युत लाईन विस्तार नभएको हो। गोदावरी नगरपालिकाको चौकीडाँडाका, अमलसेली, हिलेखाली, फुलबस्ती, बेलपानी, गैरेगडा, चाप लगायतका क्षेत्रमा विद्युत सेवा विस्तार नभएको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका सुपरभाइजर बसन्त कुमारले बताए। 

उनका अनुसार धनगढी वितरण केन्द्र अन्तरगत सबैभन्दा बढि चुरे गाँउपालिकामा विद्युत लाइन विस्तार गर्न बाँकी रहेको छ। उनले भने, ‘चुरे गाँउपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ का कुनै पनि बस्तीमा विद्युत छ्रैन्। गाँउपालिकाको गर्भादरबार, खैराला, बसन्तपुर, डेसना, सतयगडा, चोरपानी, धप्रेनी, माझपानी, बालुवागडा, जागती, बैसेनी, ठुला वन लगायतका क्षेत्रमा विद्युत लाईन विस्तार भएको छैन्। गाँउपालिकाको वडा नम्बर ५ अन्तरगत पर्ने भासु गाँउ, वडा नम्बर ७ मा पर्ने घोडीलास, शान्तिनगर, कोट, ढुङ्गानी, गाजर, आमपानी, सिम्ती लगाएतका क्षेत्रमा पनि विद्युत छैन्।’  

धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्रकुमार यादवले भने, ‘प्रत्येक वर्ष जनताबाट विद्युत लाईन विस्तारको माग भइरहेको हुन्छ, तर उप–महानगरपालिका क्षेत्रमा विद्युतको पहुच नै नभएको क्षेत्र भने छैन्। धनगढीको डमौलिया गाँउमा विद्युतको पहुच थिएन्, अहिले डमौलियामा पनि विजुली बलेको छ।’

मोहन्याल गाँउपालिकाका पनि लगभग सबै वडामा विद्युत सेवा छैन्। गाँउपालिकाको वडा नम्बर ५ सालघारीमा गत वर्ष मात्र विद्युत सेवा पुगेको छ भने, कर्णाली चिपानीबाट पितमारी सम्म मात्र विद्युत लाइन बिस्तार भएको छ। घोडाघोडी र गौरीगंगा नगरपालिका तथा कैलारी गाँउपालिकाका केही वडामा पनि विद्युत सेवा विस्तार भएको छैन्। गौरीगंगा नगरपालिकाको वडा नम्बर ११ र कैलाली गााउपालिकाको मझ्रा गाँउमा विद्युत छैन्। घोडाघोडी नगरपालिकाको वडा नम्बर ६ र ९ मा एक ठाँउमा पनि विद्युत लाईन बिस्तार भएको छैन्। वडा नम्बर १, २,३, ५ र ८ का केही क्षेत्रमा विद्युतको पहुच छैन्।

जिल्लाको दक्षिणी क्षेत्रका केही बस्तीमा पनि विद्युत सेवा विस्तारको काम बाँकी रहेको नेपाल विद्युत प्राधिकरण भजनी वितरण केन्द्रका प्रमुख प्रतिस ढकालले बताए। उनले भने, ‘भजनी वितरण केन्द्र अन्तरगतको घोडाघोडी नगरपालिकामा सबैभन्दा बढि क्षेत्रमा लाइन विस्तारको काम बाँकी छ। केही क्षेत्रमा घोडाघोडी ग्रामिण विद्युत सहकारीले काम गर्दै छ, केहि क्षेत्रमा हाम्रो पनि काम छ। तर काम तिव्र गतीमा गर्न सकिएको छैन्।’ भजनी वितरण केन्द्रले मोहन्याल गाँउपालिकामा पनि विद्युत लाइन विस्तारको काम गर्नु पर्ने छ।

जिल्ला स्थित वितरण केन्द्रहरुले विद्युत लाईन विस्तार गर्नु पर्ने क्षेत्र, परिवारको संख्या, लाग्ने लागत तथा विस्तार गर्नु पर्ने क्षेत्रको लम्बाईको विवरण नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालयलाई पठाईसकेको बताएका छन्। 
जिल्लाको टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाँउपालिका लगायतका स्थानीय तहका सबै वडामा विद्युतको पहुच रहेको प्राधिकरणको दावी छ। तर केही बस्ती तथा गाउँहरुमा विद्युत लाईन बिस्तार गर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण टीकापुर बितरण केन्द्रले जनाएको छ। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस