सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नै थातथलोबाट लखेटिँदै बाजुराको लाम्पाटा र गुम्बाका स्थानीय

तस्विरः अनिल शाही
तस्विरः अनिल शाही
२०८३ जेठ १०, ०६:३० नारायण अवस्थी

धनगढीः बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ लाम्पाटा, रानीसैन र गुम्बा क्षेत्रका स्थानीयले आफूहरू आफ्नै थातथलोमा असुरक्षित बन्दै गएको गुनासो गरेका छन्। वर्षौंदेखि सीमा विवाद, वन क्षेत्रको नियन्त्रण, जडीबुटी संकलन र वन्यजन्तु तस्करीसँग जोडिएका गतिविधिका कारण स्थानीय बासिन्दा त्रासमा बाँच्न बाध्य भएको उनीहरूको आरोप छ।

स्थानीयका अनुसार हुम्ला सीमावर्ती क्षेत्रबाट आउने केही समूहले लामो समयदेखि विवाद सिर्जना गर्दै आएको छ। उनीहरूले बाजुराका सोझा जनजाति समुदायलाई धम्की, दबाब र डर देखाएर विस्थापित गर्ने प्रयास भइरहेको बताएका छन्।

स्थानीयवासीको भनाइमा पछिल्ला वर्षहरूमा जंगल क्षेत्रलाई नियन्त्रणमा लिएर जडीबुटी र वन्यजन्तु तस्करीको अड्डा बनाउने उद्देश्यसहित अशान्ति फैलाउने काम भइरहेको छ। 'हामी आफ्नै गाउँमा डराएर बस्नुपर्ने अवस्था आएको छ,' एक स्थानीयले गुनासो गर्दै भने, 'राति घरबाहिर निस्कन समेत डर लाग्छ, कहिले झडप हुन्छ भन्ने त्रास छ।'

लाम्पाटा र रानीसैन क्षेत्र विगतदेखि नै बाजुरा र हुम्लाका स्थानीयबीच विवादित बन्दै आएको छ। विशेषगरी चरन क्षेत्र, वनको उपयोग र प्रशासनिक सीमाको विषयलाई लिएर पटक–पटक तनाव हुने गरेको छ। जेठ ३ गते हुम्लाबाट आएको समूहले स्थानीयलाई कुटपिट गरी बन्धक नै बनाएका थिए। जेठ ५ गतेसमेत दुवै जिल्लाका स्थानीयबीच झडप हुँदा प्रहरीसमेत घाइते भएका थिए।

स्थानीय अगुवाहरूले राज्यको उपस्थिति कमजोर हुँदा समस्या झन् जटिल बन्दै गएको बताएका छन्। उनीहरूका अनुसार स्थायी सुरक्षा संयन्त्रको अभाव र प्रभावकारी प्रशासनिक निगरानी नहुँदा अवैध गतिविधिमा संलग्न समूहहरू सक्रिय बन्दै गएका छन्।

'हामीले पटक–पटक सरकार र प्रशासनसँग सुरक्षा माग्यौं, तर दीर्घकालीन समाधान भएन,' एक स्थानीय जनप्रतिनिधिले भने, 'स्थानीयलाई विस्थापित गरेर जमिन कब्जा गर्ने खेल भइरहेको महसुस भएको छ।'

स्थानीय बासिन्दाले तत्काल स्थायी प्रहरी चौकी स्थापना, सीमा विवाद समाधानका लागि संघीय पहल र अवैध जडीबुटी तथा वन्यजन्तु तस्करी नियन्त्रण गर्न कडा कदम चाल्न माग गरेका छन्।

यता प्रशासनले भने विवाद समाधानका लागि दुवै जिल्लाका सरोकारवालासँग समन्वय भइरहेको जनाएको छ। सुरक्षा निकायले संवेदनशील क्षेत्रमा निगरानी बढाइएको र स्थिति नियन्त्रणमा राख्न प्रयास भइरहेको बताएको छ। शनिवार मात्रै बाजुराबाट उक्त क्षेत्रमा लागि २६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ भने सङ्घीय सरकारले सीमा विवाद अध्ययन गर्न टोली गठन गरेको छ।

तर स्थानीयहरू भने अझै त्रासमुक्त हुन सकेका छैनन्। 'हामी जन्मिएको ठाउँमै पराइझैँ हुनुपरेको छ,' गुम्बाका एक वृद्धले भने, 'राज्यले हाम्रो आवाज नसुने हामी आफ्नै भूमिबाट हराउने अवस्था आउन सक्छ।'

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस