कैलाली–कञ्चनपुरबाट भन्सार छलिका सामान नियन्त्रण
धनगढीः कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ तथा वडा नम्बर ३ सिसा पोस्ट क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ४३ हजार १ सय ३० रुपैयाँ बराबरका सुटपिस, मिठाई, बच्चाका खेलौना, सिरप, साइकलका विभिन्न सामान तथा प्लास्टिक झिल्ली लगायतका सामग्री बरामद गरिएको हो।
शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
त्यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डा, पुनर्वास नगरपालिका–६ खप्तड स्कुल नजिक तथा पुनर्वास नगरपालिका–८ लम्साल चोक क्षेत्रबाट अन्दाजी २ लाख ३२ हजार ५ सय रुपैयाँ बराबरका पेय पदार्थ, एयर कुलर, बोइलर कुखुरा, एक थान मोटरसाइकल लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।