बाजुरामा–हुम्लीको दादागिरीः प्रहरीसहित पाँच जना घाइते, मेयर हमालको टोली फिर्ता
धनगढी: बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण र सीमा विवादलाई लिएर मंगलबार भएको झडपमा प्रहरीसहित पाँच जना घाइते भएका छन्।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले सीमा विवादको विषय उठाउँदै विरोध जनाएपछि हिमाली गाउँपालिकाका स्थानीयसँग झडप भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार झडपमा हिमाली गाउँपालिका–३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुँवर, प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी तथा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार घाइतेहरूको ढाड, गर्धन, छाती र खुट्टामा चोट लागेको छ। उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
हुम्लावासीले झिके विवाद
बाजुराको हिमाली गाउँपालिका वडा नम्बर-३ मा सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी स्थापना गर्न लागेको भन्दै हुम्लाको खार्पुनाथ गाउँपालिका-२ र सर्केगाड गाउँपालिका-३ का स्थानीयले विवाद झिक्दै आएका थिए।
प्रहरी चौकी निर्माण र सीमा विवाद पुरानै भए पनि मंगलबार ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान अन्तर्गत साइपाल हिमालको बेस क्याम्पतर्फ गइरहेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली घटनास्थल पुगेपछि नियोजित रुपमा हुम्लाको खार्पुनाथ र सर्केगाडका स्थानीयले तनाव थप बढाएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए।
'हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ' भन्ने अभियान रानीसैन आउने जानकारी प्राप्त गरेपछि हुम्लाको खार्पुनाथ-२ र सर्केगाड-३ का स्थानीय सुदूरपश्चिमको टोलीलाई रानीसैन जान नदिने भन्दै केही दिनदेखि उक्त स्थानमा आएर बसेको र अवरोध गरेको अध्यक्ष मल्लले दिनेशखबरसँग बताए।
अध्यक्ष शाहीका अनुसार भ्रमण टोलीलाई रानीसैन जान नदिने भन्दै हुम्लाको खार्पुनाथ-२ का करिब तीन सय स्थानीय चार/पाँच दिनदेखि उक्त क्षेत्रमा आएर बसेको तथा स्थानीयमाथि कुटपिट समेत गरेका थिए। उनीहरूले बाजुरमा जिल्लामा पर्ने रानीसैनलाई हुम्ला जिल्लाको क्षेत्र दाबी गर्दै 'हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ' अभियानको टोलीलाई अवरोध गरेका हुन्। त्यसपछि विवादमा नपर्ने भन्दै मेयर हमालसहितको टोली फर्किएको अध्यक्ष मल्लले बताए।
सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा अस्थायी प्रहरी चौकी भवन निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तर खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले उक्त क्षेत्र आफूहरूले विगतदेखि चलनभोग गर्दै आएको दाबी गर्दै प्रहरी चौकी निर्माणको विरोध गर्दै आएका छन्।
बाजुरा प्रहरीले भने प्रहरी चौकी स्थापना हुन लागेको क्षेत्र बाजुरा जिल्लामा पर्ने जनाएको छ। हुम्लावासीले उक्त क्षेत्रमा निर्वाध भोगचलन गरिरहेकाले प्रहरी चौकी स्थापना भए, जडिबुटी संकलन र अन्य गतिविधिमा अंकुश लाग्ने भन्दै उनीहरू चौकी स्थापनाको बिरोधमा उत्रिएको प्रहरीको भनाइ छ।