सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली भन्सारलाई १३ क्वीन्टल चिनी गोप्य रूपमा बिक्री गरेको आरोप

२०८३ जेठ ५, ०१:०५ खबर संवाददाता

धनगढीः कैलाली भन्सार कार्यालयले १३ क्वीन्टलभन्दा बढी चिनी गोप्य रूपमा बिक्री गरेको आरोप लागेको छ। भन्सार कार्यालयमा सूचीकृत व्यवसायिक फर्मका सञ्चालकहरूले प्रक्रिया मिचेर कर्मचारी–व्यवसायीको मिलेमतोमा चिनी बिक्री गरिएको दाबी गर्दै विरोध जनाएका छन्।

व्यवसायीहरूका अनुसार भारतबाट तस्करी गरी ल्याइएको चिनी कानुनअनुसार सार्वजनिक सूचना प्रकाशित गरी लिलामीमार्फत बिक्री गर्नुपर्ने थियो। तर, कुनै पनि सार्वजनिक सूचना ननिकाली चिनी बिक्री गरिएको भन्दै उनीहरूले भन्सार कार्यालयकै संलग्नतामा गोप्य कारोबार भएको आशंका व्यक्त गरेका छन्।

स्रोतका अनुसार भन्सार कार्यालयले करिब १ हजार ३ सय ७१ किलो चिनी सुटुक्क बिक्री गरेको आरोप लगाइएको छ। यस विषयलाई लिएर सूचीकृत व्यवसायी फर्मका सञ्चालकहरूले पछिल्ला दिनहरूमा नियमित रूपमा विरोध जनाइरहेका छन्।

यद्यपि भन्सार कार्यालयले भने आरोप अस्वीकार गर्दै कानुनअनुसार नै चिनी लिलामी गरिएको स्पष्ट पारेको छ। कार्यालय भवन मर्मतको काम चलिरहेकाले गोदाममा राखिएको चिनी बिग्रिने जोखिम रहेको र षड्ने–गल्ने सामानलाई ‘द्रुत मार्ग’बाट लिलामी गर्न पाइने कानुनी प्रावधानअनुसार बिक्री गरिएको दाबी कार्यालयको छ।

भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार ३१ वैशाखमा कार्यालयको सूचना पाटीमा लिलामीसम्बन्धी सूचना टाँसिएको थियो। सोही सूचनाका आधारमा प्राप्त आवेदनअनुसार चिनी बिक्री गरिएको र व्यवसायीहरूले लगाएको मिलेमतोको आरोप निराधार रहेको उनले बताए।

'भन्सार कार्यालयमा गोदाम अभाव भएकाले चिनी लिलामी गरिएको हो। जेन्जी आन्दोलनमा भवनमा आगजनी भएको र मर्मत सम्भारको काम गर्न गोदाम खाली गर्न चिनी लिलाम गरिएको हो,' उनले भने, 'हामीले भन्सार नियमावली, २०८३ को नियम ९० बमोजिम चिनी लिलाम गरिएको हो। मिलेमतो गरिएको छैन।'

तर व्यवसायीहरूले भने भन्सार कार्यालयले अन्य षड्ने–गल्ने सामान छाडेर चिनी मात्र बिक्री गर्नुले कर्मचारीहरूको नियतमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।

उता, हाल भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको अवस्था छ। यसका कारण सीमा क्षेत्रमा चिनीको अवैध ओसारपसार बढ्ने जोखिम उच्च रहेको भन्दै व्यवसायीहरूले पारदर्शिता र छानबिनको माग गरेका छन्।

कमेन्ट लोड गर्नुस