सुदूर नेपाललाई विश्वसँग जोड्दै

आन्तरिक राजश्व कार्यालय धनगढीमा सेवा पाउँन चार दिन लाईन

२०७६ भदौ १३, १२:५५ कमल सावद

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ९ बाङ्गापाटाकी रिता साउँद विहिबार बिहान साढे आठ बजे आन्तरिक राजश्व कार्यालय धनगढीको कार्यालयमा पुगिन्। जिल्लाको त्रिवेणी नगरपालिकामा सञ्चालीत उनकोे नीजि विद्यालयको राजश्व बुझाउन साउँद पाँच दिन पहिले धनगढी आएकी थिईन्। सडक सञ्जालसंग नजोडिएको बाङ्गापाटाबाट धनगढी आउन मात्र साउँदलाई दुई दिन लागेको थियो। तीन दिन आन्तरिक राजश्व कार्यालय धनगढीमा लाईनमा बस्दा पनि सेवा नपाएपछि साउँद हैरान भएकी छन्। उनी भन्छिन, ‘लाइनमा बसेको तीन दिन भएको छ, सेवा पाएको छैन्, काम अझै कहिले हुने हो ? थाह छैन्।’ 

उनी मात्रै होईन आन्तरिक राजश्व कार्यालय धनगढीको सेवा प्रभावकारी नहुँदा धेरै सेवाग्राहीलाई सास्ती बढेको छ। साउँद जस्तै सयौँ सेवाग्राही विहान ८ बजे नै कार्यालयमा सेवा लिन लाईनमा बसेका थिए। उनीहरु मध्ये धेरैसंग एउटै कामका लागि पनि तीन दिन लाईमा बसेको अनुभव थियो।

आन्तरिक राजश्व कार्यालयमा सानो कामका लागि पनि तीन ठाँउमा लाइनमा बस्नु परेको अछाम तुर्माखात गाँउपालिका ३  भैरवस्थानका शिव विसीले बताए। उनले कार्यालयको फितलो व्यवस्थापनका कारण हैरान भएको गुनासो गरे।

कैलालीको कैलारी गाँउपालिका वडा नम्बर ३ हसुलियाका कनैया महतोले चार दिन सम्म कर चुक्ताका लागि लाइनमा बसेको तर काम नभएको बताए। कार्यालयमा तीन–चार दिन सम्म लाईनमा बस्दा पनि सेवा नपाएको सेवाग्राहीले गुनासो गरेका छन्।

सेवाग्राहीले लाईनमा बसेकाहरुको काम नहुने तर पहुँचवालको भने आन्तरिक रुपमा सहजै काम हुने गरेको आरोप समेत लगाएका छन्। राजश्व बुझाउँन तथा नयाँ स्थायी लेखा नम्वर अर्थात पान नम्बर लिनका लागि सास्ती हुने गरेको छ। 

गर्मी मौसममा भोक–भोकै सेवाका लागि लाईन बस्दा समेत सेवा नपाएको उनीहरुले गुनासो गरेका छन्। आन्तरिक राजश्व कार्यालय धनगढीमा अहिले विभिन्न संघ–संस्था, व्यापारिक फार्म सहित व्यक्तिहरु राजश्व भुक्तानी, स्थायी लेखा नम्बर (पान) दर्ता लगायतका कामका लागि आउने गरेका छन्। 

कर्यालयको वेवास्ता र कर्मचारीको ढिलासुस्ती शैलीका कारण काम गराउन हैरानी खेप्नु परेको सेवाग्राहीको गुनासो छ। नयाँ नीति अनुसार अब सरकारी सेवासहित विभिन्न संघ संस्थामा कार्यरत कर्मचारी सहित श्रमीकलाई तलब भत्ता भुक्तानी दिँदासमेत अनिवार्य स्थायी लेखा नम्बर हुनुपर्नेछ।

यस अघि निजि संस्थाहरुको मात्र प्यान नम्बर रहने व्यवस्था रहेको थियो। सुदूरपश्चिममा धनगढी, लम्की, महेन्द्रनगर र डडेल्धुराबाट मात्रै पान नम्बर दिने व्यवस्था गरिएकोले अहिले सेवाग्राहीको भिड बढेको छ।

यता आन्तरिक राजश्व कार्यालय धनगढीका निमित्त प्रमुख केशवराज पौडेलले भने सेवाग्राहीहरु प्रक्रिया नपुगाएर कार्यालयमा आउने गरेका कारण ढिलाई भएको बताए। उनले व्यवस्थापनमा कुनै कमजोरी नभएको दावी गरे। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस