सुदूर नेपाललाई विश्वसँग जोड्दै

खानेपानी पाएपछि वडामा खुसियाली

२०८३ वैशाख ३१, १०:२१ खबर संवाददाता

बैतडी: बैतडीको पाटन नगरपालिका–१ का छ वटा गाउँमा पाँच करोड रुपियाँको लागतमा खानेपानी सञ्चालनमा आएपछि खुसियाली छाएको छ । यहाँका सकार, लदौली, इजर, घोडेधपान, डङ्सिली र सकार–गाउँमा एकै पटक खानेपानी पुगेको हो । 

सङ्घीय सरकारको पूर्ण लगानीमा खानेपानी योजना निर्माण भएको पाटन नगरपालिका–१ का वडाध्यक्ष तर्क ठगुन्नाले बताए। उनले सिन्याखोड–लदौली–डङ्सिली लिफ्ट खानेपानी योजना निर्माण भएपछि जर्किनमा पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य भएको बताए।  

उनले भने, “यो योजना पाटन नयाँ सहर आयोजना कार्यालयमार्फत सञ्चालन भएको हो । भौगोलिक विकटता र उचाइका कारण तल्लो क्षेत्रमा रहेको पानीको मुहानबाट विद्युतीय मोटर प्रयोग गरेर माथिल्लो बस्तीमा पानी वितरण गर्न वडा कार्यालयले सहजीकरण गरेको छ ।”

योजना पूरा भएपछि गाउँमा खुसियाली छाएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेश भट्टराईले बताए। उनले उपभोक्तालाई पानी वितरण गर्न एक लाख ८० हजार लिटर, ५० हजार र २० हजारका लिटरका छ वटा टङ्की निर्माण गरिएको बताए। टङ्कीमा पानी सङ्कलन गर्न ९० एमएमको पाइप प्रयोग गरिएको छ भने दुई ठाउँमा २० र २५ हर्सपावरको विद्युतीय मोटर जडान गरिएको छ ।

उनले योजना पूरा भएपछि पानी बोकर खानुपर्ने समस्या हटेको बताउ। यसअघि यहाँका स्थानीय घटौँ पैदल हिँडेर पिठिउँमा जर्किन बोकेर जीविका चलाउँदै आएका थिए । लिफ्ट खानेपानी योजना बनेपछि दुःखका दिन सकिएको ८४ वर्षीय गौरी भट्टराईले बताए। 

उभोक्तालाई दैनिक तीन घण्टा पानी वितरण गर्न तीन जना सहयोगी भर्ना गरिएको छ । सहयोगी र योजना मर्मतका लागि प्रत्येक उपभोक्ताबाट मासिक २५० रुपियाँ शुल्क लिने नियम पारित गरिएको उपभोक्ताले बताएका छन् । जिल्लामा पछिल्लो समय अग्लो डाँडामा रहेका पानीका मुहान सुक्न थालेपछि विभिन्न खोलाबाट लिफ्ट प्रविधिका खानेपानी बन्न थालेका छन् । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको तथ्याङ्क अनुसार बैतडीमा ८५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी पुगेको छ । चालु आवमा मात्रै करिब ५० वटा लिफ्ट खानेपानीका योजना सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन बैतडीका कार्यालय प्रमुख कृष्णबहादुर बोगटीले बताए। -गाेरखापत्रबाट

कमेन्ट लोड गर्नुस