सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएईमा सुदूरपश्चिमका दुई जना सहित ६९ नेपाली समस्यामा

२०७६ भदौ १२, ०४:३५ खबर संवाददाता

कामका लागि यूएई गएका ६९ जना नेपाली समस्यामा परेका छन्। एड्भान्स फ्यासिलिटी म्यानेजमेण्ट सर्भिसेस् (एलएलसी) मा कार्यरत ६९ जना कम्पनीको लापरबाहीका कारण समस्यामा परेका हुन्। दुई वर्षको करार सम्झौता सकिएको दुई महिना बित्दा पनि कम्पनीले घर नपठाएको र अहिले भिसाको अवधि पनि सकिएकाले अवैधानिक भएर बस्नुपरेको समस्यामा परेका कामदारको भनाइ छ।

दार्चुलाका कृष्णसिंह कोटारीले करार सम्झौता सकिएपछि पनि कम्पनीले घर फर्किन आनाकानी गरेको बताए। भिसा नवीकरण नगरेको र तीन महिनादेखि काममा पनि नलगाएको कामदारको गुनासो छ। यो कम्पनीमा ५ वर्षदेखि नेपाली कामदारले काम गरिरहेका छन्। नेपाल फर्काउन आग्रह गर्दै पटकपटक कम्पनीको कार्यालय धाउँदा कुनै चासो नदिएको धनगढीका केशव साउदले बताए। उनी साउद ४ वर्षेदेखि सोे कम्पनीमा कार्यरत छन्। उनले भने, ‘हामी सबैजना घर फर्कन चाहन्छौं,’ ‘कम्पनीलाई दबाब दिएपछि १५ जनालाई भने घर पठाएको छ, तर बाँकीलाई विभिन्न बहना बनाएर म्याद सार्दै आएको छ।’

समस्यामा परेको भन्दै सबै ७३ जनाले गएको असारमा आवुधावीमा रहेको नेपाली दूतावासमा निवेदन दिएका थिए। तर १५ जनालाई मात्र नेपाल पठाएको र बाँकी कामदारलाई अझै नेपाल फर्काउने कुनै प्रक्रिया अघि नबढाएको पीडितको भनाइ छ। पटकपटक दूतावास धाउँदा पनि समस्याको सुनुवाई नभएको दार्चुलाका कृष्णसिंह कोटारीले गुनासो गरे।

उनले भने, ‘हामीले दुई महिना अघि दूतावासमा निवेदन दिएका थियौं, त्यसपछि फोन गरेर बुझ्न खोज्दा कुनै जानकारी पाएनौं, दूतावासका मान्छेले फोन समेत उठाउँदैनन।’ फोन गर्न र दूतावाससम्म जाने पैसासमेत नभएको कामदारको भनाइ छ। ‘दूतावासमा फोन गर्न साथीभाइसँग मागेर पैसा जुटाउनपर्छ, हामीलाई दूतावासले केही गर्छ भन्ने आशा थियो, तर दुई महिना भयो समस्या समाधान भएको छैन, अब त आशै र्मयो,’ समस्यामा परेका डिल्लीप्रसाद बजगाईँले गुनासो गरे।

पीडित कामदारको निवेदन पछि दूतावासले चासो दिएर सम्बन्धित कम्पनीसँग आफ्ना कामदारको समस्या तत्काल समाधान गर्न आग्रह गरेको दूतावासका श्रम सहचारी मोतीराम भुषालले बताए। कामदारले पाउने सेवा सुविधासहित भिसा रद्द गरेर प्रकृया अघि बढेको र कम्पनीले साउन १४ गते पत्र पठाएर सक्दो छिट्टो समस्या समाधान गर्ने प्रतिबद्धता पत्र पठाएको भुषालले जानकारी दिए। कम्पनीले दूतावासमा पठाएको पत्रमा अब ६९ जनालाई नेपाल फर्काउन बाँकी रहेको उल्लेख गरेको छ। तर समस्या कहिलेसम्म समाधान गर्ने भन्नेबारे मिति भने उल्लेख नगरेको दूतावासले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस