सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विश्व प्रेस स्वतन्त्रता दिवसमा ऐक्यबद्धता र्‍याली, प्रेस स्वतन्त्रताको संरक्षणमा जोड

२०८३ वैशाख २०, १२:५९ खबर संवाददाता

धनगढी: धनगढीमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा ऐक्यबद्धता र्‍याली आयोजना गरिएको छ। आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीको आयोजनामा ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने मूल नारासहित र्‍याली निकालिएको हो।

र्‍यालीमा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमपछि आयोजित सभामा बोल्दै नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम संयोजक मनमोहन स्वाँरले पत्रकारहरूको हकहित र पेशागत सुरक्षाका लागि एकजुट भएर सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रेसमाथि देखिएका चुनौतीहरूलाई सबै पत्रकार मिलेर सामना गर्नुपर्ने बताए।

इन्सेकका प्रदेश संयोजक खड्कराज जोशीले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै कुनै पनि बहानामा यसलाई नियन्त्रण गर्ने प्रयास स्वीकार्य नहुने धारणा व्यक्त गरे। राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका अधिकृत विदेशराम चौधरीले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गतिविधि अस्वीकार्य रहेको बताए।

त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायरले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटनाहरू बढ्दै गएको भन्दै सञ्चारकर्मीहरूलाई आचारसंहितामा आधारित रहेर काम गर्न आग्रह गरे। कार्यक्रममा महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारहरूको हकहितको पक्षमा महासंघ सधैं उभिँदै आएको उल्लेख गर्दै वर्तमान सरकारले प्रेसमाथि चुनौती थपिरहेको आरोप लगाए। उनले पत्रकारहरूलाई सामूहिक रूपमा एकजुट रहन आग्रह गरे।

कमेन्ट लोड गर्नुस