सुदूर नेपाललाई विश्वसँग जोड्दै

भजनी नगरपालिकाद्वारा कर्मचारी भर्नाको सर्टलिष्ट डेढ बर्षपछि सार्वजनिक

२०७६ भदौ १०, ०४:४७ खबर संवाददाता

भजनी नगरपालिकाले सूचना प्रविधि अधिकृतको आवश्यकता सम्बन्धी सूचनाको सर्टलिष्ट (छोटो सूची) डेढ वर्षपछि सार्वजनिक गरेको छ। कार्यालयले २०७४ फागुन ६ गते एकजना सूचना प्रविधि अधिकृतको आवश्यकता सम्बन्धी सूचना सार्वजनिक गरेको थियो।

सोही सूचनामा आवश्यक पदको करार अवधि २०७५ असार मसान्तसम्म उल्लेख छ। कार्यालयले सूचनामा उल्लेख गरेको करार अवधि सकिएको १३ महिना पछि सर्टलिष्ट सार्वजनिक गरेको हो। सो सूचना तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले प्रकाशित गर्न लगाएका थिए।

लामो समयदेखी रोकिएको सूचनाको सर्टलिष्ट करार अवधी सकिएको १३ महिनापछि एकाएक सार्वजनिक भएपछि चलखेल भएको आरोप लागेको छ। कार्यालयले विभिन्न ६ जनाको नाम समावेश भएको सर्टलिष्ट मिति २०७६ भदौ ५ गते एक सूचना मार्फत सार्वजनिक गरेको छ।

सो सूचनामा मिति २०७४ चैत २१ गतेका दिन सूचना प्रविधि अधिकृत छनौट तथा सिफारिस समितिको निर्णयानुसारको सूची सार्वजनिक गरेको उल्लेख छ। सूचनामा उल्लेख भए अनुसार सर्टलिष्टमा पर्नेहरुमा कल्पना चौधरी, विवेकराज जोशी, जीवनकुमार चौधरी, दीपककुमार लामिछाने, दीपककुमार विश्वकर्मा र जयकुमार चौधरी रहेका छन्। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले तत्कालिन छनौट समितिले गरेको निर्णय जस्ताको त्यस्तै सार्वजनिक गरेको बताए। उनले छ जना मध्येबाट एकजना छनौटको प्रकृया अब सुरु हुने बताए। 

स्थानीयले सर्टलिष्टबाट एकजना छनौट हुुनुपूर्व नै मेयर शेरबहादुर चौधरीका नातेदारले काम सुरु गरिसकेको बताएका छन्।सर्ट लिस्टको तेस्रो नम्बरमा रहेका जीवनकुमार चौधरी गत एक महिनादेखी सोही पदमा कार्यरत रहेको जानकारी दिएका छन्।

मेयर चौधरीले आफ्नो मान्छेलाई जागिरमा राख्नका लागि सूचना सार्वजनिक गर्नमा ढिलाई गरेको आरोप पनि लागेको छ। मेयर चौधरीले जीवनकुमार चौधरीले नगरपालिकामा सूचना प्रविधिका काममा सुरुदेखी नै सहयोग गर्दै आएको बताए। उपमेयर छाया देवकोटाले यस बारेमा कुनै जानकारी नभएको बताईन्। 
 

कमेन्ट लोड गर्नुस