सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर बारे बाबुराम भट्टराई र भीम रावलबिच भनाभन

२०७६ भदौ १०, ०२:३७ जनक विष्ट

टीकापुर घटना भएको चार वर्ष पुगेको अवसरमा गत भदौँ ७ गते सामाजिक सद्भावका लागि आयोजना गरिएको टीकापुर राष्ट्रिय सम्मेलनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिएको अभिव्यक्ति विवादमा तानिएको छ। समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले सम्मेलनमा सामाजिक सद्भाव विथोल्ने खालका अभिव्यक्ति दिएको भन्दै आपत्ती प्रकट गरिएको छ।

भट्टराईले दिएको अभिव्यक्तिप्रती नेकपाका नेता भीम रावलले आपत्ती जनाएका छन्। रावलले ट्विट गर्दै भट्टराईले सभामा उत्तेजनापूर्ण, सामाजिक सद्भाव विथोल्ने, विभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहिन र गैरजिम्मेवार अभिव्यक्ति दिएको उल्लेख गरेका छन् भने कति मानिस मारिएपछि अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट होलान भनेका छन्।

उनले लेखेका छन्, “भाद्र ७ गते टीकापुर सभामा बाबुराम भट्टराईलगायत काठमाडौंबाट गएकाको कुरा युट्युवमा सुनेँ । उत्तेजनापूर्ण, सामाजिक सद्भाव बिथोल्ने, विभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार! कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् !”

जवाफमा भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘मित्र भीम रावललाई प्रश्न–झापा आन्दोलन भजन गाएर भएको थियो? थारूहरूको जमीन खोसेर उनीहरूलाई नै कमैया,कमलरी बनाउनु ‘‘कम्युनिज्म” हो ? तपाईंले थारू भाषामा जाँच दिनुपरेको भए अहिले यो ठाउँमा पुग्नुहुन्थ्यो? थारू÷ मैथिली÷नेवारी भाषामा लोकसेवा जाँच दिनु परे तपाईँका कति सजातीय अहिले सचिव हुँदाहुन् ?’यसअघि बाबुराम भट्टराईले टीकापुरमा भएको राष्ट्रिय सम्मेलनमा विद्रोह कहिले पनि नापेतौले जस्तो नहुने भन्दै २०७२ भदौ ७ गतेमा  पनि त्यही भएको तर नापे तौलेजस्तो नहुँदा आफ्नो बाटो लिएको अभिव्यक्ति दिएका थिए।

भट्टराईले सभामै थारु समुदायलाई अधिकार प्राप्तीका लागि सद्भाव खोजेर नहुने भन्दै आन्दोलन चर्काउन आग्रह गर्दै मिलेर बसेको समुदायलाई उक्साएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ। यसअघि २०७२ साल भदौ ७ गते थरूहट, थारूवान सङ्घर्ष समितिले गरेको आन्दोलनले हिंसात्मक रूप नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो।  

थरुहट-थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दाको कैलाली जिल्ला अदालतले झण्डै साढे तीन बर्षपछि फैसला गरेको थियो। कैलाली निर्वाचन क्षेत्र नम्वर १ बाट विजयी रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला भएको छ।

सासंद चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरीया, बृज मोहन डगौरा, राजेश चौधरी, विर वहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलमा १३९३० नम्वर बमोजिम जनही जन्म कैद सजाय सुनाईएको थियो। तर श्रवण चौधरी नावालक भएकाले आधा अर्थात १० बर्ष सजाय तोकिएको थियो।

यस्तै लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरीया, सन्तराम चौधरी, जित वहादुर डगौरा, प्रेम वहादुर चौधरी, किशनलाल चौधरी, दिलवहदादुर चौधरी, सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रशाद चौधरी लगायत १२ जनालाई ३ बर्ष कैद तोकिएकोमा उनीहरु कैद भुक्तान गरेर छुटिसकेका छन्।  

यस्तै नुरुल अलि जागा भनिने तहाँवर अलि जागा, बिसराम चौधरी र रामनरेश चौधरीलाई सफाई दिईएको थियो। यसै गरि करन चौधरीलाई बालबालिका ऐन २०४८ को दफा ११ ९२० बमोजिम ६ महिना कैद हुने आदेश भएकोमा उनको पनि कैद भुक्तान भईसकेकाले थुना मुक्त भईसकेका छन्।

यस्तै फरार रहेका ३१ जना मुद्धा मुल्तवमा रहने छ। घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर भएको थियो। अदालतको उक्त फैसलापछि टिकापुरमा ज्यान गुमाएका परिवारका सदस्यले न्यायको अनुभुती भएको प्रतिक्रीया दिएका थिए भने थारु समुदायमा निराशा थियो। प्रदर्शनकारीहरूले बरिष्ठ प्रहरी उपरिक्षक सहितको टोलीलाई खुर्पा, भाला, बञ्चरो, खुकुरी लगायतका घरेलु हतियारहरू प्रहार गरि हत्या गरेका थिए।

तत्कालीन समयमा मन्त्री परिषदको निर्णय पछि टिकापुर क्षेत्रमा नेपाली सेना परिचालन भएको थियो। तनावग्रस्त क्षेत्र सुरक्षाकर्मीहरूको नियन्त्रणमा रहेको थियो। घटना भएको झण्डै एक महिना सम्म कैलाली जिल्लाका विभिन्न क्षेत्रमा कफ्र्यु र निषेधाज्ञा जारी गरिएको थियो। उक्त हत्याकाण्डपछि टीकापुर शान्त भएपनि त्रास भने अझै सकिएको छैन्।   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस