सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदी बगरको बालुवामा प्याज खेती गरेर मनज्ञ आम्दानी

२०८३ वैशाख ८, ०३:१९ खबर संवाददाता

धनगढीः मरुभूमि जस्तै रहेको कर्णाली नदी बगरको बालुवामा स्थानीय किसानले प्याज खेती गरेर आम्दानी गर्न थालेका छन् । कैलालीको टीकापुर नगरपालिका–८, फाँटागाउँका ६० घरपरिवारले कर्णाली नदीको बालुवामा प्याज खेती गरेर फाइदा लिन थालेका हुन् । बाँझो रहेको बगरमा उनीहरूले केही वर्षयता प्याज खेती गरेर कमाइ गरिरहेका छन् । 

स्थानीय प्रेम चौधरीले नदी किनारको बालुवाबाट ओसिलोपन चाँडै नजाने गरेका कारण प्याज खेती निकै राम्रो हुने गरेको बताए। उनले बालुवामा प्याज खेती गर्दा धेरै मेहनत पनि आवश्यक नपर्ने गरेको उल्लेख गरे। “बालुवामा धेरै मेहनत गर्नु पर्दैन । गोबरमल हालेर प्याज लगाएर सिँचाइ मात्रै गर्नु पर्छ,” चौधरीले भने, “अन्य ठाउँको जग्गाको तुलनामा बालुवामा प्याज उत्पादन राम्रो हुन्छ ।”

फाँटागाउँका प्रायः सबैले कर्णालीको बालुवामा प्याज लगाउने गरेको जनाइएको छ । प्रत्येक परिवारले कम्तीमा एकदेखि डेढ कट्ठासम्म नदीको बालुवामा प्याज खेती गरेका छन् । आफूहरूले तीन÷चार वर्षदेखि कर्णाली नदीको बगरमा प्याज खेती गर्दै आएको कृषक सहीबहादुर चौधरीले बताए। उनले कर्णालीको बालुवामा प्याज पनि निकै राम्रो उत्पादन हुने गरेको जानकारी दिए।  

नदीको बालुवामा आठ÷दस केजी प्याजको बेर्ना लगाउँदा पाँच क्विन्टलसम्म उत्पादन हुने गरेको किसानले जनाएका छन् । कतिपय परिवारका लागि प्याज खेती नै आम्दानीको माध्यम बनेको छ । 

कर्णाली नदीआसपास बसोबास रहेको सोनहा जातिले नदीको बालुवा चालेर सुन निकाल्ने गर्छन् । बालुवा चालेर सुन खोज्ने र त्यसबाट गुजारा गर्ने उनीहरूको परम्परागत पेसा हो तर सुन पाइने बालुवामा थारू समुदायका कृषकले प्याज फलाउन थालेका छन् । 

कर्णाली नदीको बगर उपयोगमा छैन । धेरै ठुलो बगरक्षेत्र नाङ्गो भएपछि स्थानीयले प्याज खेतीको परीक्षण गरेका थिए । केही वर्षअगाडि नदीको बालुवामा थोरै प्याज लगाएर परीक्षण गर्दा अन्यत्रको भन्दा राम्रो फलेको किसानको भनाइ छ । त्यसपछि प्रत्येक वर्ष प्याज लगाउन थालेको कृषक चौधरीले बताए। “बालुवामा प्याज राम्रो फलेपछि सबै लोभिएर त्यसमै प्याज खेती गर्न थालेका छौँ,” उनले भने।    
 

कमेन्ट लोड गर्नुस