अनलाइन गेमको नाममा लाखौँ ठगी: गोदावरीका युवक पक्राउ
धनगढी: अनलाइन गेम खेलाउने बहाना बनाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहमा संलग्न एक युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका–१ का २५ वर्षीय सुवास भाटलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
कञ्चनपुरको वेदकोट नगरपालिका निवासी एक महिलाले अनलाइन गेममार्फत ठगी भएको उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा ठगी गरिएको रकम भाटको बैंक खातामार्फत कारोबार भएको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी हेमबहादुर शाहीले जानकारी दिए।
प्रहरीका अनुसार भाटले ती महिलाबाट करिब २ लाख ५० हजार रुपैयाँ असुलेका छन्। उनलाई इलाका प्रहरी कार्यालय सुखडको सहयोगमा पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानले यो घटनामा ठूलो गिरोह संलग्न रहेको देखाएको छ। उक्त गिरोहले फेसबुकमार्फत आकर्षक अफर देखाउँदै अनलाइन गेम खेलेर ठूलो रकम जितेको भन्दै प्रलोभन दिने र उक्त रकम प्राप्त गर्न कर तिर्नुपर्ने बहानामा अग्रिम रकम असुल्ने गरेको खुलेको छ।
प्रहरी स्रोतका अनुसार गिरोहले लामो समयदेखि यस्तै तरिकाले सर्वसाधारणलाई ठगी गर्दै आएको छ। पीडित पक्षले सोमबार औपचारिक जाहेरी दर्ता गर्ने तयारी गरिरहेको छ भने त्यसपछि अनुसन्धानलाई थप तीव्र बनाइने एसपी खत्रीले बताएका छन्।