सुदूर नेपाललाई विश्वसँग जोड्दै

यू–१६ विद्यालयस्तरीय क्रिकेटः वीरेन्द्र र कालिका विजयी

२०८३ वैशाख ७, ०६:४६ खबर संवाददाता

बैतडी: बैतडीमा जारी यू–१६ विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतवार भएका खेलमा वीरेन्द्र मावि र कालिका मावि विजयी भएका छन्।

पहिलो खेलमा वीरेन्द्रले कालाशैनीमाथि ७७ रनको विशाल जित निकालेर विजयी भएको हो। वीरेन्द्रको यो लगातार दोस्रो जित हो। जितका लागि पाएको २०६ रनको लक्ष्य पछ्याएको कालाशैनी १५ ओभरमा १२८ रनमा समेटियो। जसमा महेश चन्द र पञ्कज चन्दले २७÷२७ रन जोडे भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

बलिङमा वीरेन्द्रका सङ्गम ठगुन्ना, टेकेन्द्र चन्द, दिनेश चन्द र विवेक चन्दले दुई/दुई विकेट लिएका छन्। यसअघि दशरथचन्द मावि सुन्दरखालीमा पहिला ब्याटिङ गरेको वीरेन्द्रले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २०५ रन बनाएको थियो। वीरेन्द्रका सङ्गम ठगुन्नाले अर्धशतकीय पारी खेल्दै ६३ र सुजल चन्दले ४५ रनको योगदान गरे कालाशैनीका मनोज चन्दले तीन र विवेक चन्दले दुई विकेट हात पारेका हुन्। सङ्गम प्लेयर अफ दि म्याच चुनिएका छन्। 

आइतवारको दोस्रो खेलमा एमजेसीलाई चार विकेटले पराजित गरेर कालिकाले पहिलो जित दर्ता ग¥यो। एमजेसीले दिएको १४० रनको लक्ष्य कालिकाले १७ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा ग¥यो। जसमा सुशील चन्दले २७, डम्बर महरले २६ र हरिस महरले २१ रन हिर्काएका छन्। बलिङतर्फ एमजेसीका पारस महरा र प्रज्ञान चन्दले दुई÷दुई  विकेट झारे। 

त्यसअघि पहिला ब्याटिङ गरेको एमजेसी १९ दशमलव चार ओभरमा १३९ रनमा समेटियो। उसका लागि विवेक धानुकले २६ र सुशील टमटाले २५ रन बनाए। कालिकाका चक्र महर, सुजल महर र बिपीन रावलले दुई÷दुई विकेट लिएको थियो। खेलमा चक्र प्लेयर अफ दि म्याच घोषित भए। बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा वैशाख ५ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ वटा समूहको सहभागिता छ।

कमेन्ट लोड गर्नुस