सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनसुनपूर्वको बढी वर्षाले वन डढेलो घट्यो, २०८२ चैतमा हालसम्मकै कम घटना

२०८३ वैशाख ५, ०१:३७ खबर संवाददाता

काठमाडौँ: मनसुन सुरु हुनु अघि नै सरदरभन्दा बढी वर्षा हुँदा चालु वर्षको चैत महिनामा वन डढेलोका घटना उल्लेख्य रूपमा घटेका छन्। अघिल्ला वर्षहरूमा चैत उच्च जोखिमयुक्त महिना मानिँदै आए पनि २०८२ चैतमा हालसम्मकै न्यून ७९ वटा मात्र डढेलोका घटना दर्ता भएका छन्।

वन तथा भू–संरक्षण विभागको तथ्याङ्कअनुसार २०७८ चैतमा ४६६, २०७९ चैतमा २६७, २०८० चैतमा २४९ र २०८१ चैतमा ३३१ वटा डढेलोका घटना दर्ता भएका थिए। यस वर्षको घट्दो प्रवृत्तिलाई मनसुनपूर्व भएको वर्षासँग जोडेर हेरिएको छ।

वार्षिक रूपमा हेर्दा २०७८ मा २ हजार १६२, २०७९ मा १ हजार २७०, २०८० मा २ हजार ५५ र २०८१ मा ३ हजार ४७ वटा डढेलोका घटना अभिलेख भएका थिए। २०८२ मा हालसम्म ४२४ वटा घटना दर्ता भएका छन्।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले मनसुन सुरु हुनुअघि नै वर्षा भएकाले यस वर्ष वन डढेलो ठूलो समस्याका रूपमा नदेखिएको बताए। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा वन डढेलो नियन्त्रणका उपाय, ड्रोन खरिदलगायत विषयमा छलफल भएको र मनसुनजन्य विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत विनियोजित बजेटबाट व्यवस्थापन गर्ने निर्णय भएको जानकारी दिए।

महिनागत तथ्याङ्कले वैशाखलाई सबैभन्दा जोखिमयुक्त महिना देखाउँछ। २०७८ वैशाखमा १ हजार २०४, २०७९ मा ६०९, २०८० मा १ हजार २७० र २०८१ मा १ हजार ९०४ वटा डढेलोका घटना भएका थिए। तर २०८२ वैशाखमा यो सङ्ख्या १७३ मा सीमित छ। प्रतिवेदनअनुसार कुल घटनामध्ये करिब ८९ प्रतिशत फागुनदेखि वैशाखसम्म हुने गर्छन्।

दीर्घकालीन तथ्याङ्कले २०७३, २०७८ र २०८१ लाई अत्यधिक डढेलो भएका वर्षका रूपमा देखाएको छ। विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानका अनुसार जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, लामो सुक्खा अवधि, न्यून आद्र्रता, तीव्र हावा तथा मानवीय गतिविधि वृद्धि हुँदा वन डढेलोको जोखिम उच्च हुँदै गएको छ।

प्रदेशगत रूपमा २०८२ मा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै र कोशी प्रदेशमा सबैभन्दा कम डढेलोका घटना दर्ता भएका छन्। लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र मधेश प्रदेशमा समेत अघिल्ला वर्षको तुलनामा घटनामा कमी आएको देखिन्छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म पाँच वर्षमा वन डढेलोबाट करिब ९१ करोड ७९ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।

उता, जल तथा मौसम विज्ञान विभागका मौसमविद् डिविड ढकालका अनुसार प्रि–मनसुन अवधिमा सामान्यतया हुने वर्षाको तुलनामा यस वर्ष ४४.३ प्रतिशत वर्षा भइसकेको छ। हालसम्म १०१.४ मिलिमिटर वर्षा मापन भएको र यसले सुक्खापन घटाई वन डढेलोको जोखिम कम गर्न सहयोग पुगेको उनले बताए।

राष्ट्रिय कार्ययोजना २०८२ अनुसार अधिकांश वन डढेलो मानवीय कारणले लाग्ने गरेको छ। तथ्याङ्कअनुसार ६४ प्रतिशत जानाजानी, ३२ प्रतिशत लापरबाही र चार प्रतिशत अज्ञात कारणबाट डढेलो लाग्ने गरेको देखिन्छ।
 

कमेन्ट लोड गर्नुस