काममा ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीलाई सडक डिभिजन बैतडीको अन्तिम चेतावनी
धनगढीः सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय, बैतडीले सम्झौताअनुसार काम नगर्ने तथा निर्माणमा चरम ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र निर्माण कार्य सम्पन्न नगरेको, भौतिक प्रगति अत्यन्त न्यून रहेको र पटक–पटकको लिखित तथा मौखिक ताकेता गर्दा पनि काममा बेवास्ता गरिएको जनाएको छ। यसलाई गम्भीर रूपमा लिँदै व्यवसायीहरूलाई अन्तिम चेतावनी दिइएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ र ठेक्का सम्झौताका सर्तअनुसार ती ठेक्काहरू किन रद्द नगर्ने भन्ने विषयमा स्पष्ट जवाफ माग गरिएको छ।
सूचना अनुसार सम्बन्धित निर्माण व्यवसायीहरूले १५ दिनभित्र कार्यालयमा उपस्थित भई विश्वसनीय स्पष्टीकरणसहित तत्काल काम सम्पन्न गर्ने ठोस कार्ययोजना पेश गर्नुपर्नेछ।
कार्यालयले तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरण नआएमा ठेक्का सम्झौता रद्द गरिने र सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा राख्ने लगायतका कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।