सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाकाे गाेकुलेश्वरमा ईलाका प्रशासन कार्यालय स्थापनाको तयारी तीव्र

२०८२ चैत्र २२, ०५:२३ खबर संवाददाता

दार्चुलाः सुदूरपश्चिम प्रदेशको दुर्गम हिमाली जिल्ला दार्चुलामा ईलाका प्रशासन कार्यालय स्थापनाको तयारी तीव्र पारिएको छ।

शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा ईलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो। गृह मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि कार्यालय स्थापनाको तयारी अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। 

उनका अनुसार, वैशाखको पहिलो हप्ताभित्र कार्यालय सञ्चालनमा ल्याउने लक्ष्यका साथ आवश्यक सबै संरचनाको तयारी भइरहेको छ। ‘कार्यालय स्थापनाका लागि आवश्यक संरचना तयार गर्ने प्रक्रिया जारी छ र वैशाखको पहिलो हप्ताभित्र सेवा उपलब्ध गराउने तयारी भइरहेको छ’ उनले भने।

तयारीको क्रममा गोकुलेश्वरमा बसेको अन्तरपालिका बैठकले ईलाका प्रशासन कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री, आन्तरिक व्यवस्थापन र अन्य आवश्यक सहयोग स्थानीय तहहरूले दिने निर्णय गरेको छ। कार्यालय सञ्चालनका लागि शैल्यशिखर नगरपालिका अन्तर्गतको कृषि तथा पशु भवन प्रयोगमा ल्याउने निर्णय पनि गरिएको छ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार, यहाँको भौगोलिक विकटतालाई मध्यनजर गर्दै, स्थानीय नागरिकलाई नजिकैबाट सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय स्थापना गरिएको हो। अहिले सम्म नागरिकले सदरमुकाम खलङ्गा पुगेर मात्रै नागरिकता र अन्य प्रमाणपत्र लिनुपर्ने बाध्यता थियो। नयाँ कार्यालयबाट ७२ किलोमिटर दुरीमा रहेको गोकुलेश्वरमा प्रशासनिक सेवा सहज उपलब्ध हुने अपेक्षा गरिएको छ।

वडा अध्यक्ष जगदीश धामीले भने, ‘ग्रामीण भेगका नागरिकलाई प्रशासनिक सेवा नजिकै उपलब्ध गराउने उद्देश्यले ईलाका प्रशासन कार्यालय आवश्यक रहेको छ।’ शैल्यशिखर नगरपालिका–८ का धरमानन्द जोशीले पनि घर नजिकैबाट नागरिकता लगायतका प्रशासनिक सेवा पाउने भएपछि स्थानीय नागरिक खुशी भएको बताए। 

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार, ईलाका प्रशासन कार्यालयले शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका, साथै नौगाड गाउँपालिका वडा नम्बर ६ र लेकम गाउँपालिका वडा नम्बर १, २, ५ र ६ का नागरिकलाई सेवा प्रदान गर्नेछ। कार्यालयमार्फत नागरिकता, राष्ट्रिय परिचयपत्र, विपद् व्यवस्थापन, सार्वजनिक सुरक्षा लगायतका सेवा स्थानीय तहसम्म सहजै पुग्ने अपेक्षा गरिएको छ। (गाेरखापत्र)
 

कमेन्ट लोड गर्नुस