सुदूरपश्चिममा डिआइजी रानाले गरे १८७ प्रहरीको सरुवा
धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले व्यापक सरुवा अभियान अघि बढाएको छ। प्रदेश प्रहरी प्रमुख डिआइजी ओमबहादुर रानाले आवश्यकता अनुसार जुनियर तहका प्रहरी अधिकृतहरूको सरुवा गरिएको जानकारी दिएका छन्।
कार्यालयका अनुसार हालसम्म १२ जना प्रहरी नायब निरीक्षक, १०२ जना प्रहरी सहायक निरीक्षक र ७३ जना प्रहरी वरिष्ठ हवल्दार गरी कुल १८७ जना कर्मचारीको सरुवा गरिएको छ। लामो समयदेखि एउटै स्थानमा कार्यरत तथा दुर्गम पहाडी क्षेत्रमा जान अनिच्छुक कर्मचारीहरूलाई समेत प्राथमिकताका साथ सरुवा गरिएको स्रोतले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयको कर्मचारी प्रशासन शाखाले सूचना जारी गर्दै सरुवाबारे औपचारिक जानकारी दिएको हो। सरुवा भएका कर्मचारीहरूले वैशाख महिनादेखिको तलब तथा भत्ता नयाँ दरबन्दीबाटै प्राप्त गर्ने व्यवस्था मिलाइएको पनि कार्यालयले स्पष्ट पारेको छ।
यस्तै, सरुवासम्बन्धी अभिलेख अद्यावधिकका लागि राष्ट्रिय किताबखाना (प्रहरी) लाई औपचारिक रूपमा अनुरोध गरिएको जनाइएको छ।