सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात कार्यालय धनगढीको साडेपानीमा छड्के अनुगमन, ३६ सवारीलाई कारबाही

२०८२ चैत्र २०, ०५:५० नारायण अवस्थी

धनगढीः यातायात व्यवस्था कार्यालय धनगढी, कैलालीले शुक्रवार महेन्द्र राजमार्गमा सवारी चेकजाँच गरेको छ। यातायात व्यवस्था कार्यालय धनगढी र ट्राफिक प्रहरीको संयुक्त टोलीले १५३ वटा सवारीलाई चेकजाँच गरेको हो।

यातायात व्यवस्था कार्यालय धनगढी, कैलालीका सूचना अधिकारी सुरेश ओखेडाले शुक्रवार महेन्द्र राजमार्गको घोडाघोडी-२ साडेपानीमा १५३ वटा सवारी साधन चेकजाँच गर्दा ३६ वटा सवारी साधन कारबाहीमा परेको बताए। उनले ३६ सवारी साधनबाट ८१ हजार पाँच सय रुपैयाँ जरिवाना संकलन भएको बताए।

'हामीले सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन,२०७९ को १८६ को (१) र यातायात व्यवस्था नियमावली, २०८० को नियम ७५ को (१) को अधिनमा रहेर सावरी साधन चेकजाँच गर्दा नियम उल्लङ्घन गरेर चलाइएका ३६ सवारी साधनलाई कारबाही गरिएको हो,' उनले भने, 'यातायात क्षेत्रको निरीक्षण तथा अनुगमन गर्ने क्रममा विभिन्न कैफियत भएका सवारी साधनलाई जरिवान गरिएको हो।'

प्रदेशको यातायात व्यवस्था नियमावलीको नियम ७५ को (१) मा 'मन्त्रालयले तोकेको कार्यक्षेत्रभित्र सम्बन्धित ट्राफिक प्रहरीको सहभागितामा यातायात व्यवस्था कार्यालयले यातायात सञ्चालन तथा व्यवस्थापनको अनुगमन गर्नेछ' भन्ने उल्लेख छ।

सूचना अधिकारी ओखेडाले सवारी साधनको प्रयोग उद्देश्य अनुसार भए/नभएको, सवारी दर्ता गरी चलाइएको छ/छैन,विदेशमा दर्ता भएको सवारी अनुमति लिएर सञ्चालन गरिएको छ/छैन, सवारीको रङ, सिट, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन गरिएको छ/छैन जस्ता कुरा हेरिएको बताए। उनले नियम विपरीत सञ्चालनमा रहेका सवारी साधनलाई न्यूनतम एक हजार पाँच सयदेखि सात हजार रुपैयाँ जरिवाना असुल गरिएको बताए।

यस्तै, चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) छ/छैन,चालक अनुमति पत्र, सवारी दर्ता किताब, जाँचपास, मार्ग इजाजतपत्र आदि नवीकरण गरिएको छ/छैन,भाडाका सवारीसँग मार्ग इजाजतपत्र छ/छैन,तोकिएकोभन्दा बढी भाडा लिएको छ/छैन, यात्रुलाई टिकट दिएको छ/छैन, तोकिएकोभन्दा बढी यात्रु वा सामान बोकेको छ/छैन जस्ता विषयको जाँच गर्दा कैफित गरेको देखिएका सवारीलाई जरिवाना गरिएको हो।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस