सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा डिएसपी चन्दसहित ३ जनालाई नसिहत, १० जनालाई गरियो सचेत

२०८२ चैत्र १४, ०२:३७ नारायण अवस्थी

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीसँग जोडिएको विवादास्पद घटनामा प्रहरी नायब उपरीक्षकसहित तीन जनालाई नसिहत दिने र अन्य १० जनालाई सचेत गराउने निर्णय गरेको छ।

कैलाली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नरेन्द्रबहादुर चन्दका अनुसार मालाखेतीका प्रमुखसमेत रहेका डिएसपी रणबहादुर चन्द, तत्कालीन मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारी र वरिष्ठ सई दिपेन्द्र भट्टलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) अनुसार अभिलेखमा जनिने गरी पहिलो पटक नसिहत दिइएको हो।

उनीहरूलाई नियमावलीको परिच्छेद १० अन्तर्गत नियम ११० को देहाय (क) अनुसार कसुर ठहर गर्दै नियम ११९ को उपनियम (१) देहाय ६ (क) बमोजिम कारबाही गरिएको जनाइएको छ। साथै, सोही घटनामा संलग्न अन्य १० जना प्रहरी कर्मचारीलाई पनि रेकर्डमा जनिने गरी सचेत गराइएको छ।

यो कारबाही साउन ९ गते मध्यराति कैलालीको गोदावरी नगरपालिका–८ मा दुई युवक पक्राउ परेको घटनासँग सम्बन्धित हो। पक्राउ परेका चन्द्रबहादुर चौधरी र राजकुमार चौधरीबाट भरुवा बन्दुकसहित चित्तलको जस्तो देखिने सिङ र खुर बरामद गरिएको थियो।

तर मुद्दा दर्ता गर्दा सिङ र खुरको विवरण उल्लेख नगरिएको र हातहतियारसम्बन्धी मुद्दा मात्र चलाइएको पाइएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको थियो। यस घटनापछि प्रहरी प्रधान कार्यालयमा परेको उजुरीमा मुद्दा शाखाका तत्कालीन प्रमुखमाथि बरामद सामग्री लुकाएको आरोपसमेत लगाइएको थियो।

प्रारम्भिक छानबिनमा कुनै कमजोरी नभएको प्रतिवेदन आए पनि पुनः परेको बेनामी उजुरीपछि प्रदेश प्रहरी कार्यालय धनगढीले अर्को छानबिन समिति गठन गरेको थियो। उक्त समितिले इलाका प्रहरी कार्यालयकै दराजमा लुकाइएको अवस्थामा सिङ र खुर फेला पारेपछि घटना थप गम्भीर बनेको थियो।

यसपछि गरिएको विस्तृत छानबिनका आधारमा डिएसपी चन्दसहित तीन जनालाई नसिहत र अन्य १० जनालाई सचेत गराउने निर्णय गरिएको हो। कुल १३ जना प्रहरी कर्मचारीमाथि कारबाही सिफारिस गरिएको थियो।

 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस