ओली र लेखक पक्राउप्रति तरुण दलको आपत्ति, ‘राजनीतिक प्रतिशोध’को आरोप
काठमाडौँः नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएको छ। संगठनले उक्त कदमलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भन्दै घोर भर्त्सना गरेको हो।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले शनिबार जारी विज्ञप्तिमा एकपक्षीय र दुराशयपूर्ण निर्णयहरूले लोकतान्त्रिक मूल्यमा गम्भीर प्रहार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने खतरा रहेको बताएका छन्।
संगठनले यस्ता कदमले अनावश्यक द्वन्द्व सिर्जना गर्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। साथै, सरकारले निर्णय पुनर्विचार गर्दै विधि र प्रक्रियाअनुसार पारदर्शी र निष्पक्ष ढंगले अघि बढ्नुपर्ने माग गरिएको छ।
तरुण दलले राजनीतिक सहिष्णुता कायम राख्न आग्रह गर्दै देशको स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउनु सबै पक्षको साझा जिम्मेवारी भएको उल्लेख गरेको छ।
साथै, शान्ति, स्थिरता र समृद्धिका लागि सबै राजनीतिक शक्तिबीच संवाद र सहकार्य आवश्यक रहेको बताउँदै राष्ट्रलाई अस्थिर बनाउने कुनै पनि गतिविधिको सशक्त विरोध गर्ने चेतावनी दिएको छ।