सुदूर नेपाललाई विश्वसँग जोड्दै

किसानले मल नपाउनु भनेको विडम्बना होः मन्त्री चौधरी

२०८२ चैत्र १३, ०५:०३ खबर संवाददाता

काठमाडौँ:  नवनियुक्त कृषि तथा पशुपन्छीमन्त्री गीता चौधरीले निरन्तर गतिशील भएर काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएकी छन्।

सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली आयोजित कार्यक्रममा मन्त्री चौधरीले विशेष परिस्थितिमा भएको चुनावपछि गठन भएको नयाँ सरकारले सबै खाले समस्या समाधान गरी देश बनाउन चाहेकाले त्यस अभियानमा सहयोग गर्न आग्रह गरिन्।

मन्त्री चौधरीले भनिन्, “यस पटकको सरकार विगतका भन्दा फरक छ, जनताले पाँच वर्ष सरकार चलाउन बहुमत दिएर पढाउनुभएको छ । सरकारले समस्याको पहिचान गरी तत्कालीन र दीर्घकालीन कार्यक्रम बनाएर प्राथमिकता निर्धारण गर्छ, त्यसका आधारमा मिलेर काम गर्नुपर्छ ।”

कृषि क्षेत्रका सबैभन्दा ठूलो समस्या रासायनिक मलको रहेको जनाउँदै मन्त्री चौधरीले कृषिप्रधान देशमा  किसानले मल नै पाउँदैनन् भने त्योभन्दा ठूलो विडम्बना केही हुँदैन भनिन्।

यसअघि मन्त्रालयका सचिवद्वय डा.दीपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्रले बजेट, रासायनिक मल, दूधको मूल्य र कृषि तथा पशुपन्छी बिमा भुक्तानी, अनुदान व्यवस्थापन, बाँझो भूमि, समन्वय समस्या, सिँचाइ, कृषि कर्जा, लगानीलगायतका विषयमा जानकारी गराएका थिए। उनिहरुले मुख्य खाद्यन्न बालीका अतिरिक्त उखु, केरा, चिया, कफिलगायत तरकारी विशेषका लागि थप रासायनिक मल प्राप्तिमा समस्या देखिएको बताए।

देशमा वार्षिक रुपमा सात लाखदेखि आठ लाख मेट्रिकटन  मल आवश्यक पर्नेमा त्यसका लागि रु ५० अर्ब बजेट आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट लोड गर्नुस