सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमामा आवागमन सहज नभए सुदूरपश्चिममा पर्यटक भित्र्याउन मुस्किल

२०७६ भदौ ६, ०३:५४ नवराज पनेरु

सुदूरपश्चिम आउने भारतीय पर्यटकलाई सीमा नाकामा गाडीको भन्सार बुझाउनै सास्ती हुन थालेपछि पर्यटन प्रवद्र्वनमा चुनौती देखिएको छ। त्रिनगर र गड्डाचौकी भन्सारमा बैंकिङ प्रणाली लागु भएपछि भारतीय पर्यटकहरुलाई गाडीको भन्सार बुझाउँनै घण्टौ समय लाग्न थालेपछि पर्यटन प्रवद्र्धनमा चुनौती बढेको हो। 

गड्डाचौकी र त्रिनगर नाकामा रहेका यात्रु शाखाहरुमा बैंकिङ प्रणाली लागु गरेपछि भन्सार बुझाउनकै लागि झन्झटीलो प्रक्रियाले धेरै समय लाग्ने गरेको छ। ‘सुदूरपश्चिममा आउने धेरै पर्यटकहरु भारतीय नै छन्,’ होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले भने, ‘उनीहरुलाई सीमा नाकामा गाडी सहित आउनका लागि निकै झन्झटीलो प्रक्रिया भएकाले समस्या भईरहेको छ।’ उनका अनुसार भन्सार बुझाएर आएका गाडीलाई पनि सुरक्षा निकायले बहना खोज्दै सताउने गरेका छन्। 

भारतीय नम्वर प्लेटको एउटा गाडीको भन्सार बुझाउनका लागि भन्सार गेटमा रहेको यात्रु शाखामा सुरुमा कम्प्युटरमा फर्म भर्नुपर्ने हुन्छ भने त्यसपछि भन्सार कार्यालय भित्र रहेको बैंकको काउण्टरमा रकम बुझाउनुपर्ने हुन्छ। रकम बुझाईसकेको भौचर फेरी यात्रु शाखामा बुझाउनुपर्ने झन्झटीलो प्रक्रिया छ।

त्यसैमा यात्रु शाखामा दक्ष कर्मचारीको अभावले एउटै गाडीको भन्सार बुझाउनका लागि पनि धेरै समय लाग्ने गरेको छ। सीमा नाकामा आवागमनमा सहजता नभए भ्रमण बर्ष २०२० को लक्ष्य भेटाउनै मुस्किल हुने भ्रमण बर्ष २०२० का लागि गठित सुदूरपश्चिम समन्वय समितिका कार्यक्रम संयोजक परमानन्द भण्डारीले बताए। ‘भन्सार बुझाउन सास्ती भईरहेको छ भने सेवा सुधार हुन आवश्यक छ,’ उनले भने, ‘बैंकीङ प्रणालीले पर्यटक आउन नमान्ने अवस्था भए सो प्रणाली हटाउन पनि सरकार तयार हुनुपर्छ।’

सुदूरपश्चिममा तेश्रो मुलुकका पर्यटक धेरै कम सङख्यामा आउने गरेका छन्। यहाँ आउने धेरै पर्यटक नै भारतीय हुन्। तर सीमा नाका देखि नै सास्ती हुन थालेपछि उनीहरुलाई सुदूरपश्चिमका पर्यटकीय क्षेत्र सम्म पुगाउन निकै समस्या हुने गरेको छ। एउटा पर्यटकीय क्षेत्रमा घुम्ने समय त उनीहरुले गाडीको भन्सार बुझाउनमै खेर फाल्नुपर्ने बाध्यता रहेको छ।

त्यसैमा भन्सार बुझाएर आईसकेपनि उनीहरुलाई सुरक्षा निकायबाट विभिन्न बहना बनाएर सताउने गरेको छ। तर आवागमन सहज बनाउँदै बढि भन्दा बढि पर्यटक तान्ने प्रयास भने भएको छैन्। यता सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा बातावरण मन्त्री माया भट्टले सरोकारवाला पक्षसंग सो बारेमा छलफल गर्ने बताईन्। ‘भ्रमण बर्षका लागि पर्यटकको सङख्या बढाउन हामी योजना बनाईरहेका छौँ,’ मन्त्री भट्टले भनिन्, ‘पर्यटकका लागि केही अवरोध भए अवश्यक हटाउनेछौ।’

गाडी लिएर आउने भारतीय पर्यटकहरुसंग सीमा क्षेत्रबाटै हुने फरक व्यवहारका कारण यस क्षेत्रको व्यापार व्यवसायमा पनि ठुलो असर परिरहेको छ। गाडी समेत ल्याउने वातावरण नबनेपछि अहिले घुम्न आउने पर्यटकहरु दिनभरी धनगढी र आसपासका क्षेत्रमा रहेपनि साँझ पर्ने वित्तिकै फर्किने गरेका छन्।

सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको अवस्थामा सबैभन्दा बढि आउने भारतीय पर्यटकसंगै व्यवहार सुधार नभए लक्ष्य पुरा हुनेमा समेत आशंका बढेको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस