दोलखामा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
काठमाडौं: मुस्ताङ एयरको नाइन एन–एएनओ कलसाइन भएको हेलिकप्टर आज सम्पर्कविहीन भएको छ। उक्त हेलिकप्टर आज बिहान काठमाडौंबाट दोलखातर्फ उडेको थियो।
नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल का अनुसार क्याप्टेन सुरज थापासहित पाँच जना सवार हेलिकप्टरसँग सम्पर्क टुटेको हो।
दोलखाका डिएसपी मनोज लामा ले हेलिकप्टर बिगु गाउँपालिका–१ लुम्नाङबाट उडेको जानकारी दिएका छन्। उनका अनुसार हेलिकप्टर लाप्त्चेतर्फ गएको थियो, तर त्यहाँ अवतरण भयो वा भएन भन्नेबारे यकिन हुन सकेको छैन।
घटनास्थल दुर्गम क्षेत्रमा पर्ने र प्रहरी कार्यालयबाट पुग्न ६–७ घण्टा लाग्ने भएकाले खोजी कार्य चुनौतीपूर्ण रहेको प्रहरीले जनाएको छ। साथै, क्षेत्रमा वर्षा भइरहेकाले उद्धार तथा खोजी कार्य प्रभावित हुन सक्ने बताइएको छ।
हेलिकप्टरसँग आज दिउँसो १२:४५ बजेदेखि सम्पर्क विच्छेद भएको जनाइएको छ।