सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण

२०८२ चैत्र १३, ०४:३२ खबर संवाददाता

काठमाडौँः नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मीत पोखरेलले आज सिंहदरबारमा पदभार ग्रहण गरेका छन्।

मन्त्री पोखरेलले जनताबाट प्राप्त मतप्रति आफूहरू अत्यन्त संवेदनशील रहेको बताउँदै आगामी पाँच वर्षभित्र पार्टीले गरेका प्रतिबद्धता पूरा गर्ने लक्ष्यसहित काम गर्ने बताए। उनले मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गरे। 'हामीले पाएको मतलाई केवल समर्थन होइन, जिम्मेवारीका रूपमा बुझेका छौँ,' उनले भने।

शिक्षा क्षेत्र सुधारका सन्दर्भमा मन्त्री पोखरेलले काठमाडौँ महानगरपालिकामा लागू गरिएका सफल कार्यक्रमलाई राष्ट्रियस्तरमा विस्तार गर्ने योजना रहेको बताए। उनले शिक्षकको क्षमता अभिवृद्धि, विद्यालय पूर्वाधार सुधार, नतिजामुखी कार्यक्रम सञ्चालन तथा छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउने कार्यलाई प्राथमिकता दिइने उल्लेख गरे।

मन्त्री पोखरेलले सानै उमेरदेखि सूचना प्रविधि, एआई, स्वास्थ्य र खेलकुदलाई शिक्षासँग जोड्ने नीति ल्याइने जानकारी दिए। खेलकुद क्षेत्रबारे बोल्दै उनले दीर्घकालीन सुधारका लागि सानो उमेरदेखि नै खेलाडीलाई उचित प्रशिक्षण र पोषण उपलब्ध गराउने योजना अघि सार्ने बताए। हाल सुरक्षा निकायमा आधारित खेलाडी उत्पादनको प्रवृत्तिलाई परिवर्तन गर्दै विद्यालय तहदेखि नै खेलकुद विकास गरिने उनले स्पष्ट पारे।

खेलकुद र शिक्षा क्षेत्रमा बढ्दो राजनीतिकरणप्रति चिन्ता व्यक्त गर्दै मन्त्री पोखरेलले यसलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, 'जहाँ राजनीति आवश्यक छ त्यहाँ भइरहेको छैन, जहाँ आवश्यक छैन त्यहाँ भइरहेको छ, अब सम्बन्धित क्षेत्रमा विज्ञ र अनुभवी व्यक्तिलाई जिम्मेवारी दिने नीति अवलम्बन गरिनेछ।'

मन्त्री पोखरेलले आधुनिक प्रविधि र विश्वव्यापी परिवर्तनलाई ध्यानमा राख्दै नेपालको शिक्षा र खेलकुद क्षेत्रलाई प्रतिस्पर्धी, व्यवस्थित र परिणाममुखी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे।

यस्तो छ मन्त्री पोखरेलको जीवनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएको हो।

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा (एमाले)का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापालगायतका स्थापित दलका शीर्ष नेतालाई निर्वाचनमा हराएर उनले चर्चा कमाएका हुन्। विसं २०५२ फागुन १ गते काठमाडौँमा जन्मिएका पोखरेलले वैकल्पिक राजनीतिक धारलाई अगाडि बढाउँदै आएका थिए । विवेकशील साझा पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका पोखरेल विसं २०७४ मा उज्ज्वल थापाको चुनावी अभियानमा सक्रिय थिए।

कानुन विषयमा काठमाडौँ विश्वविद्यालयबाट स्नातक हासिल गरेका उनले १२ कक्षाको अध्ययन भने संयुक्त राज्य अमेरिकामा पूरा गरेका हुन्। विसं २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ–५(क) प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका उनी त्यतिबेला पराजित भएका थिए। त्यसपछि पोखरेलले काठमाडौँ महानगरपालिकामा शिक्षा तथा सहायकविज्ञ तथा सहरी योजनामा सहायक विज्ञका रूपमा काम गरेका थिए।

कमेन्ट लोड गर्नुस