सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माण व्यवसायीले कारण पेश गर्न नसक्दा छ लेन सडकमा म्याद थप भएन

२०७६ भदौ ६, ११:५६ जनक विष्ट

निर्माण कम्पनीले विश्वासिलो आधार पेश गर्न नससक्दा निर्माणाधिन मोहनापुल अत्तरिया छ लेन सडकको सम्झौता अवधी सकिएको दुई महिना सम्म म्याद थप हुन सकेको छैन्। दुई वर्षको अवधीमा ६० प्रतिशत काम मात्र सम्पन्न गर्न सकेका निर्माण व्यवसायीले विश्वासिलो आधार पेश गर्न नसक्दा म्यादन नथपिएको सडक योजना कार्यालयले जनाएको छ। छ लेन सडक निर्माणका लागि दिईएको दुई वर्षको अवधी गत जेठमै सकिएपनि भदौँ पहिलो साता बित्दा समेत म्याद थप नभएको हो।

जेठमा डेढ वर्ष म्याद थप गर्न माग गरेका निर्माण व्यवसायीले पेश गरेको फाईल स्पष्ट आधार खुलाउन भन्दै संघिय सडक सुपरिवेक्षक तथा अनुगमन कार्यालय सुर्खेतले फिर्ता पठाएको थियो। सार्वजनिक खरिद नियमावली संशोधन भएपछि ठेक्का सम्झौताको म्याद एक वर्ष भन्दा बढि नबढ्ने स्थिती रहेका बेला मोहना पुल अत्तरिया छ लेन सडक योजना कार्यालयले माग गरेको कारण निर्माण व्यवसायीले अझै पेश गर्न सकेका छैनन्।

छ लेन सडक योजना कार्यालयका इन्जिनीयर एवं सूचना अधिकारी खगेन्द्र शाहीले निर्माण व्यवसायीलाई म्याद एक वर्ष थप्नुपर्ने कारण मागिएपनि हाल सम्म पेश नभएको बताए। छ लेन सडक योजना कार्यालयले यस्तो दावी गरेपनि निर्माण व्यवसायीको आरोप भिन्नै रहेको छ। उनीहरुले म्याद थपका लागि जेठमा योजना कार्यालयमा पेश गरेको निवेदनमा प्रष्ट रुपमा कारण उल्लेख गरिएको तर योजना कार्यालय भित्रको आन्तरिक खिचातानीको समस्यामा आफूहरु परेको दावी गरिएको छ।

मोहनापुलदेखि बोराडाँडी सम्मको पहिलो प्याकेजको ठेक्का पाएको नार्गाजुन निर्माण सेवाका सञ्चालक ईश्वरीदत्त भट्टले  विभागमा योजना सम्पन्न गर्न नसकेको हकमा कर्मचारीहरु पनि सजायको हिस्सेदार बन्नुपर्ने विषयमा भईरहेको छलफलमा कर्मचारीहरुको स्वार्थ बाझिएपछि निर्माण व्यवसायीलाई देखाएर म्याद थप गर्न आनाकानी गरिएको आरोप लगाए।

सम्झौता अवधी नबढाए निर्माणको काममा प्रभाव नपर्ने भएपनि योजना कार्यालय र निर्माण व्यवसायीले म्याद नबढेको कुरालाई लिएर वहाना बनाउँदै निर्माणमा ढिलाई गर्ने आशंका बढेको छ। सम्झौता अवधी नबढाएको अवस्थामा निर्माण व्यवसायीले भुक्तानी नपाउने भएको हुँदा सोही वाहाना देखाएर उनीहरु पन्छीने आशंका गरिएको हो। तर सडक योजना कार्यालयका प्रमुख होम बहादलुर एसीले आन्तरिक खिचातानीमा अल्झीएको आरोप भने गलत भएको दावी गरे।

उनले जसका कारण काममा ढिलाई भएको उसले नै जिम्मेवारी लिनुपर्ने कुरा स्वभाविक भएको बताए। तर तत्काललाई भने सम्झौता अवधी नबढाईएपनि निर्माण व्यवसायीले फिल्डमा काम गरिरहेको दावी गरिएको छ। सडक योजना कार्यालयका सूचना अधिकारी शाहीले मोहना पुल देखि अत्तरिया सम्मको साढे १४ किलोमिटर सडकको भौतिक प्रगती समग्रमा ६० प्रतिशत रहेको तर पहिलो प्याकेजको कामले भने तिव्रता पाएको बताए।

विगतमा कछुवा गतिमा रहेको पहिलो प्याकेजमा अहिले ६५ प्रतिशत भौतिक प्रगती भएको शाहीले जानकारी दिए। दोस्रो र तेस्रो प्याकेजमा ५८ प्रतिशत काम सम्पन्न भएको छ। तर म्याद थप्नमा ढिलाई भए निर्माण व्यवसायीले भुक्तानी नपाउने भएकाले काम प्रभावित हुनसक्ने देखिएको छ। संशोधित सार्वजनिक खरिद ऐनमा पूराना योजनाको हकमा सुरुको अवधीको ५० प्रतिशत बढि म्याद थप गर्न नपाउने व्यवस्था गरिएकाले पनि अवधी बढाउन ढिलाई गरिएको हुनसक्ने अनुमान गरिएको छ।
 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस