सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीकी डेंगु संक्रमित महिलाको धनगढीमा मृत्यु

२०७६ भदौ ६, ११:३० खबर संवाददाता

डोटीमा डेंगुको संक्रमण भएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर छ थापलाकी ४२ वर्षीया छत्र मलासीको उपचारका क्रममा मृत्यु भएको हो। टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएपछि मलासीलाई उपचारका लागि धनगढी ल्याईएको थियो।

उनको वीहिबार बिहान उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो। मलासीमा डेङ्गुसँगै स्क्रप टाईफसको समेत संक्रमण देखिएको अस्पतालले जनाएको छ। उनलाई डेंगुको संक्रमण अत्यधिक भएकाले बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

यस्तै प्रदेशका अन्य पाँच जिल्लामा पनि डेंगुका विरामी भेटिएका थिए।  वैशाख ३० गते धरानमा देखिएको डेंगु फैलिदै गएपछि सुदूरपश्चिमका पाँच जिल्लामा पनि विरामी भेटिएका हुन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सुदूरपश्चिममा सबैभन्दा बढि दार्चुला जिल्लामा चार जना विरामी भेटिएका छन्। यस्तै कैलालीमा तीन, कञ्चनपुर र डडेल्धुरामा दुई÷दुई तथा अछाम जिल्लामा एक जना डेंगुका विरामी भेटिएका हुन्।

अहिले देशभरीका ४३ जिल्लामा तीन हजार चार सय १३ डेंगुका बिरामी भेटिएकोमा सुदूरपश्चिम प्रदेशमा १२ जना विरामी रहेको महाशाखाले जनाएको छ। महाशाखाले डेंगु नियन्त्रण बाहिर गईसकेको समेत जनाएको छ। बर्खा सकिएपछि देखिने डेंगु यस वर्ष बर्खा सुरु हुनुअघि नै देखिएको थियो।

लक्ष्यण र कसरी बच्ने
डेंगु एडिज एजेप्टाइ नामक लामखुट्टेको टोकाइबाट हुने तीव्र भाइरल संक्रमण हो। यो रोगबाट ग्रसित भएका बेला ज्वरोको तापक्रम अत्यन्त बढी हुने भएकाले शरीरको नसा तातेर नसा फुट्न गई रक्तश्राव हुन्छ। त्यस्तो अवस्थालाई डेंगु हेमोरेजिक फिभर भनिन्छ।

यो अत्यन्त गम्भीर रोग भएकाले ग्रसित व्यक्तिको ज्यानै जाने सम्भावना पनि हुन सक्छ। यो विषाणुजनक भाइरस एकबाट अर्कोमा अत्यन्त छिटो सर्न सक्छ। लामखुट्टे यस रोगको जीवाणु संवाहक भएकाले प्रायजसो गर्मी तथा वर्षातको मौसममा यो रोगले सताउँछ। मुख्यतः दिउँसो टोक्ने संक्रमित एडिज लामखुट्टेले टोक्दा यो रोगको संक्रमण ३ देखि १४ दिनमा मात्र देखिन्छ। यो रोगबाट ग्रसित व्यक्तिको शरीरको मांसपेशी र हाडजोर्नी असह्य दुख्ने भएकाले यसलाई हाडतोड ज्वरो भनिन्छ।

अकस्मात् चिसोको अनुभूतिका साथ शरीरमा कम्पन उत्पन्न हुने, टाउको, आँखा वरिपरि, ढाड तथा शरीरका सबै मांसपेशीका साथै हाडजोर्नी असह्य दुख्ने, छटपटी लाग्ने, रिंगटा लाग्ने, भोक नलाग्ने, अनिद्रा हुने, कमजोरीका साथ शरीरमा शिथिलता उत्पन्न हुने, छालामा रातो फोका देखा पर्ने र क्रमशः आफैं हराउने, कब्जियत हुने तथा नाक र आन्द्राबाट रक्तस्राब हुने यस रोगका लक्ष्यण हुन्।

रोग लाग्नबाट बच्ने उपाय तथा रोग लागिसकेपछि उचित उपचार नगरिएमा निमोनियाँ, आँखाको आइरिस अंगको सुजन, पुरुषको अण्डकोष सुन्निनु, महिलाको डिम्बाणु सुन्निनु, रक्तअल्पता, डिप्रेसन हुन सक्छ। घर वरिपरिको वातावरण सफा राख्ने, घर छेउछाउका नाला, खाल्डा आदिमा पानी तथा फोहरमैला जम्मा हुन नदिने, सुत्ने बेलामा झुल प्रयोग गर्ने, लामखुट्टेको वृद्धि रोक्नका लागि कीटाणुनाशक औषधि छर्कने, साँझबिहान लामखुट्टे अत्यन्त चनाखो हुने हुनाले उक्त समयमा घरको झ्यालढोका बन्द राख्ने, पूरा बाहुला भएको लुगा लगाउने, शरीरको खुला अंगमा तोरीको तेल लगाउने, रोगविरुद्ध भ्याक्सिन लिने गर्दा रोगबाट जोगिन सपिकन्छ।

 

कमेन्ट लोड गर्नुस