आलेसँगको कुराकानीकै आधारमा बोलेको थिएँ : शाहको प्रष्टीकरण
धनगढी: कांग्रेसका केही नेताले पैसा लिएको अभिव्यक्तिपछि विवादमा तानिएका नेता नरनारायण शाह ‘मनु’ले आफ्नो भनाइबारे प्रष्टीकरण दिएका छन्।
उनले प्रेमबहादुर आलेसँग भएको भेटका क्रममा सुनेको कुराकै आधारमा आफूले उक्त अभिव्यक्ति दिएको स्पष्ट पारेका हुन्। शाहका अनुसार आलेसँग बेल्स क्याफे र ओटीसी अफिसमा दुई पटक भेट भएको थियो, जहाँ समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
प्रष्टीकरणमा उनले आलेले आफ्नै पार्टीका केही नेताले सहयोग गरेको र केहीले आर्थिक सहयोगसमेत लिएको कुरा सुनाएको दाबी गरेका छन्। उनले उक्त दाबी पुष्टि गर्ने च्याट हिस्ट्रीसमेत देखाइएको उल्लेख गर्दै त्यसबेला आफूले विस्तृत विवरण नबुझ्दा हाल कुनै ठोस प्रमाण आफूसँग नरहेको स्वीकार गरेका छन्।
शाहले आफ्नो अभिव्यक्ति अप्रिय हुन सक्ने भए पनि कुनै खराब नियत, कसैलाई बदनाम गर्ने उद्देश्य वा भ्रम फैलाउने मनसाय नरहेको जिकिर गरेका छन्। “यदि मेरो भनाइबाट कुनै कमी–कमजोरी भएको महसुस भएको छ भने त्यसप्रति म जिम्मेवार छु,” उनले भनेका छन्।
अन्त्यमा उनले समयसँगै सत्य तथ्य बाहिर आउने विश्वास व्यक्त गर्दै आफ्नो अभिव्यक्तिलाई अन्यथा नलिन आग्रह गरेका छन्।
शाहको स्टाटस जस्ताको त्यस्तै
प्रिय मित्र ! प्रेम आलेजी,
तपाईं यो बिचमा म कहाँ दुइ पटक आउनु भो एकपटक बेल्स क्याफे र अर्को दिन ओटीसीको अफिसमा भेट भयो, यहाँको इच्छा अनुसार नै मैले पनि यहाँसँग भेटेको यथार्थ कुरा हो, त्यसप्रति म हर्षितनै छु । भेट्नुको कारण पनि समसामयिक राजनीतिक विषयवस्तु नै थियो जस्तो लाग्छ ।
कुरैकुरामा यहाँले मलाई तपाईका पार्टीका केही नेताहरुले मलाई सहयोग गरेका थिए र केहिले त आर्थिक सहयोग समेत पनि प्राप्त गरेको कुरा सुनाउनुको साथै मलाई आफ्नो मोबाईलमा रहेको च्याट हिस्ट्री समेत देखाएको यहालाई पुनः स्मरण गराउन चाहन्छु । तर यहाँले मलाई त्यसको विवरण पठाइदिन्छु भन्दा मैले मलाई अहिले आवश्यक नरहेको भनेकै पनि थिएँ ।
त्यसैकारणले मसँग त्यस्तो कुनै ठोस प्रमाण छैन पनि । तर सत्य कुरा बोल्नुपर्दा मैले यहाँ निर केही अप्रिय कुरा भन्नु परेकै हो । यहाँ मैले कुनै खराब नियतले तपाईंको बदनामी गर्न अथवा चरीत्र हत्या गर्न खोजेको होइन अथवा भ्रम छरेर समाज भाड्ने प्रयास पनि गरेको होइन । यस किसिमका क्रियाकलाप म बाट न कहिले भएका थिए न हुनेछन् । त्यसका बावजुद यहाँलाई म बाट नै केही कमी कमजोरी भएको महसुस हुन्छ भने त्यसका प्रति म स्वयं पनि जिम्मेवार बनेको छु । साथै, अन्तिममा समयले बिस्तारै सबै प्रष्टयाउने छ भन्नेमा म पुर्णतः विश्वस्त छु । यसलाई अन्यथा कसैले नलिइदिनु होला भन्ने आग्रहका साथ,
जय नेपाल !!