सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश २ को नाम ‘मधेश’, राजधानी ‘जनकपुर’ राख्न समाजवादी पार्टी नेपाल र राजपा संयुक्तको प्रस्ताव

२०७६ भदौ ५, ०६:१५ खबर संवाददाता

प्रदेश नम्बर २ को सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को नाम ‘मधेश’ राख्ने संयुक्त प्रस्ताव दर्ता गराएका छन्। यस्तै प्रदेशको राजधानी जनकपुरधाम, मिथिला माध्यमिकी सडक र धनुषा जिल्लाको उत्तरमा ढल्केबार राजमार्ग छुँदै पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सीमासम्मको भागलाई राख्न प्रदेश सभा सचिवालयमा संयुक्त प्रस्ताव बिहीबार दर्ता गराएको हो।

नामको प्रस्ताव राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक प्रमेश्वर साह र राजधानीको प्रस्ताव समाजवादी पार्टीका मुख्य चेतक शैलेन्द्रप्रसाद यादवले दर्ता गराएका हुन। यस्तै समाजवादी पार्टीका सात जना सांसदले राजधानी ‘वीरगञ्ज’ हुनुपर्ने फरक मतसहित प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन्।

समाजवादी पार्टीका सांसद सिंहासन साह कल्वारको नेतृत्वमा सांसद प्रह्लाद गिरी गोसानी, करिमा बेगम, जनक अन्सारी, अञ्जु यादव, भिमा यादव र रागनी देवी वर्णमालले वीरगञ्ज राजधानी हुनुपर्ने पक्षमा पार्टी संसदीय दलको निर्णय विपरीत प्रस्ताव दर्ता गराएका हुन्।

यसअघि नेपाली कांग्रेसले प्रदेश २ को नाम मिथिला–भोजपुरा राख्ने प्रस्ताव प्रदेशसभामा राखिसकेको छ भने नेकपाले पनि प्रदेशको नाम जानकी र प्रदेशको राजधानी जनकपुर परिक्रमा मार्गसहित पुरै धनुषालाई बनाउने प्रस्ताव दर्ता गराइसकेको छ।
 

कमेन्ट लोड गर्नुस