चुनावमा प्रेम आलेको पैसा खाने काँग्रेसका ५७ जना नेता को–को हुन्?
धनगढीः फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ का ५७ जना काँग्रेसीले प्रेम आलेबाट पैसा खाएको तथ्य सार्वजनिक भएको छ।
नेपाली काँग्रेसबाट कैलाली–५ मा उम्मेदवार बनेका नरनारायण शाहले नै ५७ जना काँग्रेसका नेताहरूले प्रेम आलेबाट रकम बुझेको बताएका हुन्। एक मिडियासँग कुराकानी गर्दै शाहले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेले नै आफूलाई भेटेर पैसा बुझ्ने ५७ जनाको नामावली नै दिएको दाबी गरेका छन्। शाहले नेतृत्व तहमै बसेका नेताहरू आलेबाट पैसा बुझेको बताएका छन्।
तर उनले क–कसले पैसा बुझेका हुन् भन्ने कुरा भनेका खुलाएका छैनन्। कुराकानीको क्रममा चुनावमा पैसाको चलखेल भएको प्रसंगमा शाहलाई नै भेटेर आलेले पैसा खाने काँग्रेसीको लिष्ट बुझाएको दाबी गरिएको छ। तर कुन नेताले कति रकम बुझे भनेर थप खुलाइएको छैन। शाहले आलेबाट रकम बुझ्ने नेताहरूको नाम सार्वजनिक गरे पार्टी नै नरहने अवस्था आउने बताएका छन्। त्यसैले कसैको पनि नाम सार्वजनिक नगरेको उनले बताएका छन्।
आलेबाट ५७ जना काँग्रेस नेताहरूले चुनावको बेला रकम खाएको विषय सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जाल तातेको छ। सामाजिक सञ्जालमा रकम बुझ्ने काँग्रेसीहरू को–को हुन्? भन्दै प्रश्न गरिएको छ। कैलाली–५ मा काँग्रेसबाट उम्मेदवार बनाएका शाह रास्वपाका उम्मेदवारसँग पराजित भएका थिए। प्रेमबहादुर आले भने तेस्रो भएका थिए। रास्वपाका चन्द कुल ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै विजयी भएका हुन्। काँग्रेसका शाहले ११ हजार ९५८ मत प्राप्त गरका थिए भने नेपाली कम्युनिष्ट पार्टीका आलेले ७ हजार ८७६ मत मात्र प्राप्त गरेका थिए।