सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाले काँचो इँटामा ठुलो नोक्सान गरेपछि कैलालीका इँटा व्यवसायी चिन्तित

२०८२ चैत्र ८, ०४:०१ खबर संवाददाता

धनगढीः वर्षाले काँचो इँटामा ठुलो नोक्सान गरेपछि कैलालीका इँटा व्यवसायी चिन्तित् भएका छन् । इँटाले मूल्य नपाइरहेको अवस्थामा बेमौसमी वर्षाले झन क्षति बेहोर्नु परेको भन्दै उनीहरु चिन्तित् भएका हुन । प्री–मनसुन अवधिमा शुक्रबार भएको वर्षाले काँचो इँटा पूर्ण रुपमा नष्ट भइ इँटा उद्योगमा ठुलो क्षति भएको छ। 

जिल्लाभरी करिब सात करोड रुपियाँ बराबरको क्षति भएको सेती महाकाली इँटा उद्योग व्यवसायी संघ कैलालीले जानकारी दिएको छ । प्रत्येक इँटा उद्योगमा पाँच लाखदेखि सात लाखसम्म काँचो इँटा नष्ट भएको संघका अध्यक्ष विनोदकुमार साहले बताए। उनका अनुसार जिल्लाभरी ५२ वटा इँटा उद्योग रहेका छन्। 

अध्यक्ष साहले हरेक उद्योगमा १२ लाखदेखि १३ लाख रुपियाँसम्मको क्षति भएको उल्लेख गरे। ‘भट्टीमा हाल्न नपाएका सबै काँचो इँटा नोक्सान भएपछि हामी व्यवसायीले ठुलो नोक्सान बेहोरेका छौं’ उनले भने,‘माटो त काम लाग्न सक्छ । तर, मजदुरमा लागेको खर्च नोक्सान भयो ।’ इँटा बनाउन प्रतिइँटा तीन रुपियाँ मजदुर खर्च लाग्ने गरेको जनाइएको छ ।
 

कमेन्ट लोड गर्नुस