धनगढीमा ज्येष्ठ नागरिकका लागि निःशुल्क चिया घर सञ्चालन
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘डी गाउँ’ मा ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गर्ने उद्देश्यले 'ज्येष्ठ नागरिक निःशुल्क चिया घर' सञ्चालनमा ल्याइएको छ।
यस चिया घरमा ज्येष्ठ नागरिकहरूले निःशुल्क रूपमा चिया पिउन पाउने मात्र नभई आत्मीय वातावरणमा बसेर समय बिताउने अवसर पनि प्राप्त गर्नेछन्। साथै, यहाँ पत्रपत्रिका र विभिन्न पुस्तकहरू पढ्न पाउने सुविधा उपलब्ध गराइएको छ, जसले उनीहरूको ज्ञानवर्धन तथा मानसिक स्फूर्ति बढाउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार यो स्थानलाई केवल चिया पिउने ठाउँमा सीमित नराखी अनुभव आदानप्रदान गर्ने, पुराना सम्झनाहरू साट्ने र सामाजिक सम्बन्ध बलियो बनाउने साझा थलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
यस अभियानका सञ्चालक तथा ‘द दरबार स्कुल’का संस्थापक अध्यक्ष पृथ्वी शाहले ज्येष्ठ नागरिकहरू समाजका अमूल्य धरोहर भएको उल्लेख गर्दै उनीहरूलाई सम्मानसाथ समय बिताउने वातावरण सिर्जना गर्ने उद्देश्यले यस्तो पहल गरिएको बताए। उनले आगामी दिनमा यस कार्यक्रमलाई अझ विस्तार र प्रभावकारी बनाउने योजना रहेको जानकारी दिए।
यस पहलले समाजमा ज्येष्ठ नागरिकप्रति सम्मान, माया र आत्मीयताको भावना अभिवृद्धि हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।