सुदूर नेपाललाई विश्वसँग जोड्दै

खक्रौला सीमा घटनापछि डिएसपीसहित सुरक्षाकर्मी मुख्यालय तानिए, छानबिन तीव्र

२०८२ चैत्र ८, १०:०१ खबर संवाददाता

धनगढीः कैलालीको खक्रौला सीमा सुरक्षा गुल्ममा भएको सुरक्षा कमजोरीसम्बन्धी घटनापछि सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदीप पौडेलसहित त्यहाँ कार्यरत सुरक्षाकर्मीहरूलाई कारबाहीका लागि काठमाडौँस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय झिकाइएको छ।

गुल्मको सुरक्षा व्यवस्थामा लापरबाही भएको निष्कर्षसहित उनीहरूलाई मुख्यालय तानिएको हो। गत चैत ४ गते भारतबाट अवैध रूपमा ल्याइएको सामान नियन्त्रणमा लिने क्रममा एक समूह सशस्त्र प्रहरीको कार्यालयभित्रै प्रवेश गरी गुल्मपतिमाथि हातपातको प्रयास गरेको थियो।

घटनाका बेला आवश्यक बल प्रयोग नगरेको र सुरक्षा व्यवस्थामा कमजोरी देखिएको भन्दै सशस्त्र प्रहरीले आन्तरिक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले घटनालाई गम्भीर रूपमा लिँदै विस्तृत अनुसन्धान सुरु गरेको छ।

छानबिनका क्रममा कमाण्डरमाथि आक्रमण प्रयास हुँदा किन बल प्रयोग गरिएन, सुरक्षा व्यवस्था किन कमजोर रह्यो, र बाह्य समूह कार्यालयभित्र कसरी प्रवेश गर्न सफल भयो भन्ने विषयमा विशेष ध्यान दिइने बताइएको छ।

यसअघि घटनाको प्रारम्भिक छानबिनका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको नेतृत्वमा समिति गठन गरेको थियो।

घटनाका बेला ड्युटीमा रहेका अन्य सुरक्षाकर्मीहरूलाई पनि मुख्यालय बोलाइएको छ। हाल खक्रौला गुल्ममा नयाँ टोली खटाइएको छ।

सशस्त्र प्रहरीले देशभर तस्करी नियन्त्रण अभियानलाई प्राथमिकता दिएको जनाउँदै खक्रौला क्षेत्रमा समेत लामो समयदेखि विशेष निगरानी राखिएको जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस