टीकापुरमा वर्षाले मुसुरो र केराउ बाली नोक्सान
टीकापुरः चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पु¥याएको छ।
चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न ठिक्क भएको मुसुरो र केराउ बालीलाई क्षति पु¥याएको हो। “उखेलेको मुसुरो खेतमै थियो, अचानक पानी आइहाल्यो। पालले छोप्दा पनि पूरै ढाक्न सकिएन र सबै भिज्यो,” टीकापुर नगरपालिका–२, राजीपुरका अर्जुन ठकुल्लाले भने, “सबैको मुसुरो पाकेको थियो, पानी परेपछि गाउँका किसानको मुसुरो खेती गलेको छ।”
राजीपुरकै चुलुवा चौधरीले पनि ३० कट्ठा खेतमा लगाएको मुसुरो र केराउ पाकेर सड्न थालेपछि उखेल्न थालेको बताए। यस्तै, राजकुमारी चौधरीले २० कट्ठा जमिनमा उखेलेर राखेको मुसुरो भिजेर बिग्रिएको र बाँकी रहेको मुसुरो पनि हतार–हतार उखेल्न थालेको जानकारी दिइन्। वर्षासँगै चलेको हावाहुरीले भर्खरै बाला लाग्दै गरेको गहुँ बाली समेत ढालेको छ।
टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख मोतीसिंह विकले बेमौसमी वर्षाले वसन्ते मकै, लहरे तरकारी र अरहरलगायतका बालीलाई फाइदा पुगे पनि पाकेको मुसुरो र केराउलाई भने नोक्सानी गरेको बताए। कैलाली मुसुरो र केराउ राम्रो उत्पादन हुने क्षेत्र हो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाका अनुसार टीकापुर क्षेत्रमा बिहीबार बिहानदेखि शनिवार बिहानसम्म १२ मिलिमिटर वर्षा मापन गरिएको छ।