सुदूर नेपाललाई विश्वसँग जोड्दै

दृष्टि दोष पहिचान गर्न कञ्चनपुरमा ‘विद्यालय आँखा जाँच’ कार्यक्रम सञ्चालन

२०८२ चैत्र १, ०६:१४ रासस

कञ्चनपुरः विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखामा देखिने दृष्टि दोष समयमै पत्ता लगाई उपचारको व्यवस्था गर्न कञ्चनपुरमा ‘विद्यालय आँखा जाँच कार्यक्रम’ सञ्चालन गरिएको छ ।
बालबालिकाको अध्ययनमा प्रत्यक्ष प्रभाव पार्ने दृष्टि समस्यालाई समयमै पहिचान गरी समाधान गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।

नेपाल नेत्रज्योति सङ्घको आर्थिक सहयोग तथा गेटा र महेन्द्रनगर आँखा अस्पतालको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत जिल्लाका १० सरकारी तथा सामुदायिक विद्यालयका करिब तीन हजार विद्यार्थीको आँखा परीक्षण गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममार्फत विद्यालयमै पुगेर विद्यार्थीको आँखा जाँच गर्ने, दृष्टि दोष पत्ता लगाउने र आवश्यक उपचारको व्यवस्था मिलाइने भएको छ ।

गेटा–महेन्द्रनगर आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत वीरसिंह धामीका अनुसार विद्यार्थीमा देखिने दृष्टि समस्यालाई प्रारम्भिक चरणमै पहिचान गर्न विद्यालयमै पुगेर आँखा परीक्षण गर्ने अभियान सञ्चालन गरिएको हो । 'विद्यार्थीको आँखा जाँच गरी दृष्टि दोष देखिएमा तत्काल आवश्यक परामर्श दिने गरेका छौँ । चश्मा आवश्यक पर्ने विद्यार्थीलाई निःशुल्क चश्मा, औषधि उपलब्ध गराउने र उपचार आवश्यक परे गेटा तथा महेन्द्रनगर आँखा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाएका छौँ ।'  उनले भने । 

उनका अनुसार विद्यालय उमेरका बालबालिकामा दृष्टि दोष देखिने समस्या बढ्दो क्रममा छ । एक अध्ययनले विद्यालयमा अध्ययनरत करिब ३.५ प्रतिशत विद्यार्थीमा दृष्टि दोष हुने देखाएको छ । यस्तो समस्या समयमै पत्ता नलागेमा बालबालिकाको अध्ययनमा ध्यान केन्द्रित गर्ने क्षमता र समग्र शैक्षिक उपलब्धिमा असर पर्ने सम्भावना रहने वरिष्ठ नेत्र अधिकृत धामीले बताए। विद्यालयमा पढ्ने बालबालिकाले आफ्ना समस्या सहज रूपमा अभिव्यक्त गर्न नसक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक पर्ने उनको भनाइ छ ।

हालसम्म दोधरा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका तीनवटा विद्यालयमा आँखा जाँच कार्यक्रम सम्पन्न भइसकेको छ । ती विद्यालयका एक हजार १५५ विद्यार्थीको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा ६५ विद्यार्थीमा दृष्टि समस्या देखिएपछि निःशुल्क चश्मा वितरण गरिएको छ भने २७ जना विद्यार्थीलाई थप उपचारका लागि गेटा तथा महेन्द्रनगर आँखा अस्पतालमा रेफर गरिएको वरिष्ठ नेत्र अधिकृत धामीले जानकारी दिए। 

कार्यक्रमअन्तर्गत एक सय ५० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गर्ने लक्ष्य राखिएको छ । यससँगै आवश्यक पर्ने विद्यार्थीलाई औषधि वितरण तथा उपचार सेवा पनि निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ । उनले भने “बालबालिकामा दृष्टि दोष हुने प्रमुख कारणमा आँखाको कमजोरी, लामो समयसम्म मोबाइल वा टेलिभिजन प्रयोग, अपर्याप्त प्रकाशमा पढाइ, पोषणको कमी तथा आनुवंशिक कारणसमेत रहने गर्छन्, यस्तो समस्या समयमै पत्ता नलागे बालबालिकाले बोर्डमा लेखिएको कुरा स्पष्ट देख्न नसक्ने, पढाइमा रुचि कम हुने, टाउको दुख्ने वा आँखा दुख्ने समस्या देखिन सक्छ ।”

वरिष्ठ नेत्र अधिकृत धामीले अभिभावकलाई आफ्ना बालबालिकाको दृष्टि अवस्थाबारे समय–समयमा जानकारी लिन आग्रह गरे । उनले धेरैजसो अभिभावकले बालबालिकामा दृष्टि समस्या भए पनि समयमै थाहा पाउन सक्नु हुँदैन, त्यसैले नियमित रूपमा आँखा परीक्षण गराउनु अत्यन्त आवश्यक रहेको बताए। उनका अनुसार विद्यालय प्रशासनले माग गरेमा चिकित्सकसहितको टोली विद्यालयमै पुगेर निःशुल्क आँखा परीक्षण सेवा प्रदान गर्न तयार रहेको छ । यसले ग्रामीण तथा दूरदराजका विद्यार्थीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने अपेक्षा गरिएको छ । 

“बालबालिकाको आँखा राम्रो भएमात्र उनीहरूको सिकाइ प्रक्रिया प्रभावकारी हुन्छ”, अधिकृत धामीले भने, “दृष्टि स्पष्ट भएमा पढाइमा ध्यान केन्द्रित गर्न, पाठ्यपुस्तक पढ्न तथा कक्षाकोठामा शिक्षकले सिकाउने विषयवस्तु बुझ्न सजिलो हुन्छ, त्यसैले विद्यालयस्तरमै आँखा परीक्षण गर्नु महत्त्वपूर्ण हुन्छ ।”

कमेन्ट लोड गर्नुस