कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँः डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनलाई दोषी ठहर गरेको हो।
विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्टको अध्यक्षतामा बसेको संयुक्त इजलासले मङ्गलबार फैसला सुनाएको हो। उक्त इजलासमा न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ समेत सहभागी थिए। अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको प्रमाण र तथ्यका आधारमा यादवलाई दोषी ठहर गरेको जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध ७ लाख ३१ हजार रुपैयाँ बिगो कायम गर्दै गत भदौ २ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। कैलालीको चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपूर्जीका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएको अवस्थामा यादवलाई गत साउन ५ गते अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।
पक्राउपछि उनलाई प्रारम्भिक अनुसन्धानका लागि एक रात कञ्चनपुरस्थित अख्तियारको हिरासतमा राखिएको थियो। त्यसपछि थप अनुसन्धानका लागि केही दिन काठमाडौँस्थित अख्तियारको हिरासतमा राखेर बयान र प्रमाण संकलन गरिएको थियो।
पर्याप्त प्रमाण पाएपछि अख्तियारले यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सोही मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले अन्ततः उनलाई दोषी ठहर गरेको हो।
अदालतको फैसला अनुसार अब यादवलाई भ्रष्टाचारसम्बन्धी कानुनअनुसार बिगो, जरिवाना र अन्य कानुनी सजाय तोकिनेछ। विशेष अदालतले यादवलाई एक वर्ष तीन महिना कैद तथा दुई लाख ४३ हजार ६६६ रुपैयाँ बिगो सजाय गरेको छ।
सोही मुद्दामा प्रतिकूल बयान गरेको अभियोग लागेका कैलालीको चुरे गाउँपालिका– ६ बस्ने प्रेमसिंह ठगुन्ना र कैलालीको गोदावरी नगरपालिका– २ बस्ने किसनसिंह साउँद पनि दोषी ठहर भएका छन्। साउँद र ठगुन्नालाई एक वर्ष कैद तथा जनही दुई लाख ४३ हजार ६६६ रुपैयाँ जरिबाना तोकेको छ।
वन अधिकृतलाई जोगाउन अदालतमा गएर फरक बयान गरेपछि आयोगले उनीहरूलाई पनि प्रतिवादी बनाएको थियो।