सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा १७ वर्षीय किशोरको मृत्यु

२०८२ फाल्गुन २७, ०९:४१ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–२ बसौटीमा भरुवा बन्दुक पड्किँदा १७ वर्षीय किशोरको मृत्यु भएको छ।

जिल्ला बैतडी शिवनाथ गाउँपालिका–४ घर भएका १७ वर्षीय सुबास महरा आफ्नी दिदी जानकी बोहराको घरमा आएका बेला घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा मंगलबार साँझतिर एक्कासी बन्दुक पड्किँदा गम्भीर घाइते भएका थिए।

घाइते महरालाई उपचारका लागि जोगबुढा अस्पताल, डडेल्धुरा लगिएकोमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा तथा बैतडी शिवनाथ गाउँपालिका–४ का एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनास्थलबाट उक्त भरुवा बन्दुकसमेत बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस