सुदूर नेपाललाई विश्वसँग जोड्दै

बसन्ता करिडोरमा १२ मिटर चौडा हुलाकी सडक बन्ने , एक सय २१ रुख काट्नुपर्ने

फोटो : अविनाश चौधरी
फोटो : अविनाश चौधरी
२०७६ भदौ ४, ११:४४ जनक विष्ट

हुलाकी सडक अन्तरगत कैलालीको बसन्ता करिडोरको  वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएपनि अन्यौता भने कायमै रहेको छ। हुलाकी खण्डको बसन्ता करिडोरको दुई किलोमिटर क्षेत्रको दोस्रो पटक पुरक वातावरणीय प्रभाव मुल्याङक तयार गरी पेश गरिएको प्रतिवेदन वन मन्त्रालयले स्वीकृत गरेपनि अन्यौता भने कायमै रहेको हो। पहिलो पटक तयार गरी पेश गरिएको बसन्ता जैविक मार्गमा पर्ने दुई किलोमिटर क्षेत्रको वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन अस्वीकृत गरेको वन मन्त्रालयले दोस्रो पटकको प्रतिवेदन भने स्वीकृत गरेको हो।

हुलाकी सडक आयोजना, योजना कार्यालय धनगढीका इन्जिनीयर एवंम् सूचना अधिकारी पदम बहादुर मडैले वन विभगाले साउन १३ मा दोस्रो पटक पेश गरिएको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको जानकारी दिए। विभागले गत साउन १९ मा हुलाकी सडक योजना कार्यालयलाई पत्राचार गर्दै दोस्रो पटक बुझाईएको प्रतिवेदन स्वीकृत गरिएको जनाएको छ तर त्यसपछिका आवश्यक प्रक्रिया थाल्न भने ढिलाई भएको छ।

पछिल्लो पटक स्वीकृत भएको वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन अनुसार बसन्ता करिडोर क्षेत्रको दुई किलोमिटमा विगतमा ३० मिटर चौडा सडक निर्माण गर्न भनिएकोमा परिमार्जन गर्दैै १२ मिटर तय गरिएको इन्जिनीइर मडैले बताए। सडक क्षेत्रको १८ मिटर चौडाई घटाएपछि विगतमा चार सय एक् रुख काट्नुपर्नेमा अब भने एक सय २१ वटा रुख मात्रै काटिने देखिएको मडैले जनाए। त्यसका लागि संघिय मन्त्रीपरिषद् बैठकले निर्णय गर्नुपर्ने भएपनि आवश्यक प्रक्रिया सुरु गरिएको छैन्। तर हुलाकी सडक योजना कार्यालयले भने अब छिट्टै प्रक्रिया सुरु गरेर निर्माणको काम अगाडी बढाउने जनाएको छ।

विगतमा वन कार्यालयले बसन्ता जैविक मार्ग वन्यजन्तुका लागि संवेदनशील क्षेत्र भएकाले वन्यजन्तुमैत्री संरचना निर्माण गर्ने अडान कायम राख्दा काम ठप्प रहेको थियो। बसन्ता जैविक मार्ग भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको छ। दुधुवा नेसनल पार्क हुँदै नेपालको बसन्ता वन, चुरेसम्म वर्षको दुई सिजनमा हात्ती, बाघ तथा साना प्रजातिका वन्यजन्तु ओहोरदोहोर गर्दै आएको छन्। सडक निर्माण गरेपनि वन्यजन्तुमैत्री संरचना निर्माण गर्ने विषयमा भने अहिले सहमती जुटिसकेको छ। तर त्यसका लागि ठुलो आकारको बजेट आवश्यक पर्ने भएकाले माग गरिने हुलाकी सडकले जनाएको छ।

सडक योजना कार्यालयका सूचना अधिकारी मडैले तत्काल सडक वनसँग समन्वय गरेर रुख कटान र सडक निर्माणको काम थालिने बताउँदै वन्यजन्तुका लागि ओहोरदोहोर गर्ने ओभरहेड र अन्टरपास संरचनाका लागि त्यसपछि प्रक्रिया थालिने जनाए। हुलाकी  सडक निर्माण सुरु भएको १० वर्ष हुँदा पनि बसन्ता करिडोरमा देखिएको अन्यौलताकै कारण काम अगाडी बढ्न सकेको थिएन। तर अहिले उक्त अन्यौल्यता हटिसकेकाले अन्य प्रक्रिया थाल्दै निर्माणलाई तिव्रता दिनुपर्ने सुझाव दिईएको छ।  
    

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस