सुदूर नेपाललाई विश्वसँग जोड्दै

मृत भेटीएका योजना आयोगका कर्मचारीको सुसाइड नोट भेटीयो

२०७६ भदौ ३, ०३:२७ खबर संवाददाता

मंगलबार सिंहदरबार स्थित मुख्य प्रशासनिक केन्द्रभित्रै मृत भेटिएका कर्मचारीले आत्महत्या गरेको पाइएको छ। राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत भेटिएका थिए। कीर्तिपुर नगरपालिका टौदहघर भएका केसीको सुसाइड नोट भेट्टीएको प्रहरीले जनाएको छ। अपराधस्थलमा खटिएका एक अधिकृतकाअनुसार, नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेका छन्। आफूले ‘कसैका कारण आत्महत्या गरेको होइन। पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन’ भन्ने समेत लेखेका छन्।

घटनास्थलमा पुगेका सिन अफ क्राइम (सोको) अफिसरले केसीको सुसाइड नोट संकलन गरेका छन्। उनको शव भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधिको खोल भेटिएको प्रहरीले जनाएको छ। यसलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ।

औषधिसँगै केराको बोक्रा पनि भेटिएकाले उनले केरामा मिसाएर विष सेवन गरेको आशंका गरिएको छ। उनको मृत्युबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर टेकुले जनाएको छ।

कमेन्ट लोड गर्नुस