सुदूर नेपाललाई विश्वसँग जोड्दै

होलीको विवाद झडपमा परिणत : धनगढीमा प्रहरीसहित तीन घाइते, १२ जना पक्राउ

२०८२ फाल्गुन २०, ०७:४१ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी उप–महानगरपालिका–१३ स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय, राजपुर नजिक होली पर्व मनाउने क्रममा उत्पन्न सामान्य विवादले उग्र रूप लिँदा प्रहरीसहित तीन जना घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार मंगलबार साँझ करिब ६ः३० बजे होली खेल्ने क्रममा दुई समूहबीच सामान्य भनाभन भएपछि स्थिति झडपमा परिणत भएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ कैलाली निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालय, राजपुरको मतदान स्थलमा खटिएको प्रहरी टोली तथा धनगढीबाट थप प्रहरी परिचालन गरिएको थियो।

प्रहरीले दुवै पक्षलाई सम्झाइ–बुझाइ गरी अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेकै बेला करिब २००–२५० जनाको समूहले प्रहरी टोली र प्रहरी भ्यानमाथि ढुंगामुढा प्रहार गरेको जनाइएको छ। ढुंगामुढाबाट प्रहरी सहायक निरीक्षक डबल बहादुर साउद घाइते भएका छन्। साथै जिल्ला प्रहरी प्रमुखले प्रयोग गर्ने बीएअसी ३४८० नम्बरको प्रहरी भ्यानको अगाडिको सिसा र बाँया साइडको झ्यालमा क्षति पुगेको छ।

स्थिति थप तनावपूर्ण बनेपछि भीड नियन्त्रणका लागि प्रहरीले टाइप–७७ पेस्तोलबाट ६ राउन्ड हवाई फायर गरेको जनाएको छ। झडपका क्रममा प्रहरी निरीक्षक बलराम पाण्डेय, प्रहरी सहायक निरीक्षक डबल बहादुर साउद र स्थानीय युवक लोकेश खत्री घाइते भएका छन्।
घाइते तीनै जनालाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको छ। चिकित्सकका अनुसार उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा धनगढी उप–महानगरपालिका–१३ का रामदयाल राना, राकेश सुनार, नरसिंह राना, सुनिल चौधरी र जितेन्द्र रानासहित १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस