गौरीफन्टा नाकामा रोकिएका यात्रुलाई आउन दिइयो
धनगढी: कैलालीसँग जोडिएको गौरीफन्टा नाकामा आज बिहान आइपुगेका नेपाली नागरिक नेपाल भित्रिएका छन्। जिल्ला प्रशासन कार्यालयको समन्वयमा उनीहरूलाई भित्र्याइएको हो।
निर्वाचन सुरक्षाका कारण सोमबार राति १२ बजेदेखि नेपाल-भारत सिमा नाका सिल गरिएको छ। तर विभिन्न समस्याका कारण घर फर्किनु परेका २५ जनालाई सशस्त्र प्रहरी बल नेपाल र भारतीय सिमा सुरक्षा बलले माथिल्लो निकायसँग समन्वय गरेर नेपाल आउन दिइएको हो।
भारतको विभिन्न स्थानबाट बिरामीसहित आएका तथा घरमा आफन्तको मृत्यु भएकाले आउनु परेका उनीहरूलाई आवश्यक कागजपत्र जाँच गरेर आउन दिइएको हो।
२५ जना मध्ये, केही बिरामी, कोही बिरामीको कुरुवा तथा केहीको घरमा आफन्तको मृत्यु भएको प्रमाणित भएपछि उनीहरूको सिमा क्षेत्रबाट उद्धार गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले निर्वाचनका कारण नेपाल-भारत सिमा सिल भएकाले भारतबाट नेपाल नआउन आग्रह गरेका छन्। उनले फागुन २१ गते निर्वाचन हुने भएकाले २२ गते बिहान पुग्ने गरी मात्रै भारतबाट घर फर्किन आग्रह गरेका छन्।
गौरीफन्टा पुगेकाहरूको विशेष अवस्था हेरेर आउन दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। सरकारी सूचनाको ख्याल गरेर यात्रा तय गर्न आग्रह गरिएको छ।